शिविरमा स्वास्थ्य परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित बसन्तपुरमा निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । शनिबार रेडियो मकवानपुर र दिब्यतारा बहुउद्देशीय सहकारीको आयोजनामा भएको कार्यक्रममा एक सय ४२ जनाको स्वास्थ्य परीक्षण भएको हो ।

रेडियो मकवानपुरको १४ औं र दिब्यतारा बहुउद्देशीय सहकारीको २३ औं वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । शिविरमा गाउँपालिकाका बासिन्दाहरुले सामान्य जाँच गराएका मनहरी गाउँपालिका–५ का वडासचिव विदुर पाठकले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य परीक्षण गराएका बासिन्दाहरुमा रुघा, खोकीलगायतका सामान्य मौसमी समस्या देखिएको बताइएको छ । मनहरी गाउँपालिका–५ वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा धेरै बुढ्यौली उमेरका मानिसहरुमा दमको समस्या देखिएको थियो । शिविरमा मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

अस्पतालको २ जना जेनरल फिजिसियन डाक्टरसहित ८ जनाको टोलीले एक सय ४२ जनाको जाँच गर्नु भएको थियो । रेडियो मकवानपुरले हरेक वर्ष वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।