हेटौँडाः कारखाना समूहले हेटौँडाका १० विद्यालयमा सञ्चालन गरेको खेल्दै सिक्दै कार्यक्रमको समापनको अवसरमा अन्तरक्रिया र प्रस्तुती गर्ने भएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलन गरेर कारखाना समूहले करिब ७ महिनाको अवधिमा हेटौँडाका १० वटा विद्यालयमा भएको अभ्यासका विषयमा अन्तरक्रिया गर्दै खेल्दै सिक्दै कार्यक्रममा सहभागी शिक्षककोे प्रस्तुती रहने जानकारी गराएको छ ।
आगामी फागुन ४ गते हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा अन्तरक्रिया हुनेछ भने फागुन ५ गते हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा खेल्दै सिक्दै कार्यक्रमको प्रस्तुती गर्नुहुनेछ । हेटौँडामा गत साउनदेखि विभिन्न १२ वटा पाठमा आधारित भएर शिक्षकहरुलाई अभिमुखीकरण गराइएको थियो । कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरका अनुसार विद्यार्थीको प्रभावकारी सिकाइका लागि खेल्दै सिक्दै कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हेटौँडाका ३ वटा संस्थागत र ७ वटा सामुदायिक विद्यालयमा कारखानाको सहजीकरणमा खेल्दै सिक्दै कार्यक्रम सञ्चालन भइरहेको छ । हेटौँडाका विद्यालयहरुमा सञ्चालित कार्यक्रममा संयोजन गरिरहनुभएका हेटौँडा–१८, हटियास्थित जनप्रिय माविका शिक्षक युक्तलाल बिश्वकर्माले कारखानाले करिब ७ महिनाको अवधिमा गरेको सहजीकरणले विद्यार्थीमा प्रभावकारी सिकाई सम्भव भएको र केही विद्यालयले यो अवधारणालाई निरन्तर लैजान सक्ने बताउनुभएको छ ।