शिविरमा उपचारका लागि आएकाको आँखा परीक्षण गरिँदै । फाइल तस्विर ।

हेटौंडाः हेटौंडाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा सोमबार २ स्थानमा निःशुल्क आँखा शिविर भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सर्लाहीको रामनगर र मकवानपुरको बुढीचौरमा आँखा शिविर भएको हो ।

दुबै ठाउँमा भएको शिविरमा आँखा जाँच गराएका मध्ये ४१ जनाको आँखामा मोतिविन्दु पहिचान भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । बुढीचौरमा भएको निःशुल्क आँखा शिविरमा एक सय २४ जनाले आँखा जाँच गराएका थिए । जाँच गराएका मध्ये ११ जनामा मोतिविन्दु देखिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै, सर्लाहीको रामनगरमा भएको आँखा शिविरमा १ सय ५४ जनाको आँखा जाँच गरिएको छ । जाँच गराएका १ सय ५४ जनामध्ये ३० जनाको आँखामा मोतिविन्दु पहिचान भएको श्रेष्ठले बताउनुभयो ।लायन्स क्लबले ७ स्थानमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । माघ २० गतेदेखि माघ २३ गतेसम्म विभिन्न स्थानमा निःशुल्क शिविर भइरहेको हो । मोतिविन्दु देखिएका व्यक्तिलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरी चस्मासमेत वितरण गर्ने बताइएको छ । आँखाका रोगीले उज्यालो संसार देख्न पाउन् भन्ने उद्देश्यले शिविर आयोजना भएको हो ।