हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–९, शिखरपुरको कालीदेवी माध्यमिक विद्यालयमा दुई दिने कला साहित्य महोत्सव हुँदैछ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा कला साहित्य महोत्सव–२०८० हुने भएको हो ।
फागुन ११ र १२ गते बकैया गाउँपालिकामा साहित्य महोत्सवका साथै पुरस्कार वितरण कार्यक्रम हुने झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले जानकारी दिनुभयो । सोमबार झरना साहित्यिकको भवनमा भएको पत्रकार सम्मेलनमा सचिव उपासकले कार्यक्रमको पहिलो दिन बालबालिकासम्बन्धी विभिन्न नवसर्जकको कविता, चित्रकला प्रतियोगिता, नवसर्जककाको रचना वाचन, विभिन्न जातजातिको झाँकी र भेषभुषासहित नृत्य प्रस्तुतिकरण र बालबालिका विशेष बहस हुने बताउनुभयो । कार्यक्रमको दोस्रो दिन बकैयाको महत्वसम्बन्धी बकैया तथा बाहिरका बासिन्दाहरुको रचना बाचनको एउटा सेसन हुनेछ भने गजल, कविता, मुक्तकको अर्को सेसन हुनेछ ।
महोत्सवमा झरना साहित्यिक परिवारले विभिन्न ९ वटा साहित्यिक संस्थालाई पुरस्कार प्रदान गर्नेछ । गाउँपालिकामा हुने कार्यक्रममा साहित्यमा योगदान गरेबापत डा. गीता त्रिपाठीलाई २१ हजार १ सय २१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० प्रदान गरिनेछ । यस्तै, मुक्तकमा योगदान गरेबापत खोटाङका बाबुराम पोखरेललाई १५ हजार ५ सय ५५ राशिसहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८० प्रदान गरिनेछ । जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत साम्ब ढकाललाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० र साहित्यमा योगदान गरेका युवा साहित्यकार मिलन समिरलाई ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८० प्रदान गरिने भएको हो ।
कार्यक्रममा मकवानपुरका महिला गजलकार विमला कार्की ‘सुसं’लाई ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० र मकवानपुरको साहित्य सेवी रहेवापत भरत प्रसादलाई ७ हजार ७ सय ७७ राशिसहितको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०८० प्रदान गरिनेछ । मकवानपुरमा पत्रकारिताको माध्यमबाट सहयोग गरेबापत पत्रकार रामकुमार एलनलाई १ हजार १ सय ११ रुपैयाँसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० र बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित गजलकार अजर फुयाँललाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० प्रदान गरिनेछ । बकैयामा रहेका ललितकलाका क्षेत्रमा योगदान गरेबापत बाँसुरी बादक बिष्णु घतानीलाई ७ हजार ७ सय ७७ राशिसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० प्रदान गरिने भएको हो ।
महोत्सवको पहिलो दिन गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले उद्घाटन गर्नुहुनेछ भने दोस्रो दिन गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उद्घाटन गर्नुहुनेछ । झरना साहित्यिक परिवारको आयोजनामा भएको महोत्सवमा गाउँपालिकाको साहयोग रहेको छ । सचिव उपासकका अनुसार पुरस्कारबाहेक कार्यक्रममा ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।