हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सहकारीले बचत र ऋणसँगै अब उत्पादनमूलक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय धेरै सहकारी घोटाला, हिनामिनालगायतको घटना भइरहेको भन्दै उहाँले शेयर सदस्य सचेत रहन सुझाव दिनुभयो । रेडियो मकवानपुरले सामुदायिक रेडियोको धर्म निर्वाह गर्दै सबै क्षेत्रलाई समेटेर काम गरिरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
रेडियोले सामुदायिक सम्मानबाट मकवानपुर रिकभरिङ समूहका सञ्चालक सन्दिप शाक्य र धार्मिक अगुवा नारायण भट्टराईलाई सम्मान गरेको छ । दुबै जनालाई १०–१० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेको हो । यस्तै, वर्ष उत्कृष्ट कर्र्मचारीको रुपमा पोष्टराज अधिकारीलाई सम्मान गरेको छ । अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । वार्षिकोत्सवमा शहीद विषयमा साहित्यकारसँगको अन्तरक्रिया एवम् रचना वाचन, हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, ओम बृद्धाश्रमलाई खाद्यान्न वितरण, रेडियो मकवानपुर मिडिया कप फुटसल प्रतियोगिता, मनहरी ५ मा निःशुल्क स्वास्थ्य शिविर र बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला आयोजना भएको थियो ।
दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर वडाध्यक्ष दामोदर गौतम, १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइराला, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल र निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेललगायतको आतिथ्य रहेको थियो ।