कुश्माण्ड त्रिवेणीधाममा बुद्धको मूर्ति अनावरण गरिँदै ।

हेटौँडाः मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले आफ्नो छोराको विवाहउत्सवको अवसरमा हेटौँडा–९ स्थित कुश्माण्ड त्रिवेणीधाममा भगवान बुद्धको मूर्ति निर्माण गर्नुभएको छ । कान्छो छोरा डा. घोषणा विष्टको विवाहको अवसर पारेर ५ फिट धातुको बुद्ध मूर्ति स्थापना गर्नुभएको हो । बिष्टका कान्छा छोरा डा. घोषणाको बुधबार हेटौँडा–९ निवासी सुजाता कार्कीसँग विवाह समारोह सकिएको भोलिपल्ट नै बिहिबार नव–बरबधुले परिवार, आफन्त र आमन्त्रितको उपस्थितिमा बुद्ध मूर्तिको अनावरण गरेका छन् ।

विवाहमा भोजको आयोजना नगरी विष्ट परिवारले १३ लाख रुपैयाँ लागतमा बुद्ध मूर्ति स्थापना गरिएको हो । पत्रकार विष्टले जेठो छोरा बिहङ्गम बिष्टको विवाहमा भने हेटौँडा–९ स्थित मानवसेवा आश्रमको भवनको एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुुभएको थियो ।

परिवारमा महत्वपूर्ण कर्मको अवसरमा सामाजिक सेवा र समाजमा सकारात्मक काम गर्ने उद्देश्यले फरक काम गरेको विष्टको भनाइ छ । विष्ट परिवारको अभ्यासलाई सबै क्षेत्रले प्रशंसा गरेका छन् । बुद्ध मूर्ति अनावरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्र्रमुख मीना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौँडा उपमहानगरपालिकाका वडाअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।