हेटौँडाः टिपरले राजमार्गमा चुनढुंगा ओभरलोड बोकेको बिरोधमा जनता समाजवादी पार्टी (जसपा) जिल्ला कमिटी मकवानपुरले विरोध प्रदर्शन गरेको छ । सोमबार जसपा जिल्ला कमिटीको आयोजनामा विरोध र्याली निकालेर जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ ।
हेटौँडा–१०, बुद्धचोकस्थित जनता समाजवादी पार्टी कार्यालयमा भेला भई जसपा मकवानपुर अध्यक्ष सोम बहादुर घलानको नेतृत्वमा जिल्ला सचिव दीपक सिन्तान, पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झन्डा, प्लेकार्ड बोकी टिपरले राजमार्गमा चुनढुंगा ओभरलोड बोक्दा देखेर पनि नदेखे झैं किन गरेको होला भन्दै ट्राफिक प्रहरी कार्यालय मकवनपुरमा केही बेर धर्ना बसेका थिए ।
प्रदर्शनीमा ओभरलोड नियन्त्रण गर, ट्राफिक प्रहरी र उद्योगपतिको सेटिङ बन्द गर, ट्राफिक प्रहरी पुँजीपतिको मात्र होकि गरिबको पनि हो, अरुले पनि ओभरलोड बोक्न पाउने कि टिप्परले मात्र ? भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनी पश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बसन्त आचार्यले प्रहरीले देखे जति कारबाही गरेको र केहीको छुट्न गएकोले स्थलगत रुपमा नै कारबाही गरिने बताउनुभयो ।