हेटौंडाः १४ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा कास्य पदक प्राप्त गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको हो ।
मकवानपुरको बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ भने तृतीय हुने थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा १० वटै पालिकाबाट करिब ७ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताअन्तर्गत् प्रत्येक खेलमा प्रथम हुने खेलाडीलाई जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा २ साता बन्द प्रशिक्षणमा राखेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ । खेलाडीहरुले पहिलाभन्दा राम्रो नतिजा प्राप्त गराउने उद्देश्यले बन्द प्रशिक्षणको समय बढाउन लागेको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । यसअघि जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई १ सातामात्र बन्द राखिएको थियो ।
प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको भलिबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । आइतबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै थाहा नगरपालिकाले उपाधि जितेको हो । आइतबार नै सम्पन्न भएको सेमिफाइनल खेलमा थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २–० को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने हेटौंडा उपमहानगरपालिकाले मनहरी गाउँपालिकालाई २–० को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी थाहा नगरपालिकाबाट पुजन गुरुङ घोषित भएका छन् ।
आइबतार नै भएको महिलातर्फको भलिबलको उपाधि भीमफेदी गाउँपालिकाले जितेको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै भीमफेदी गाउँपालिकाले उपाधि जितेको हो । आइतबार नै सम्पन्न भएको सेमीफाइनल खेलमा बागमती गाउँपालिकालाई २–० को सोझो सेटले हराउँदै भीमफेदी फाइनलमा प्रवेश गरेको थियो भने थाहा नगरपालिकालाई २–० को सोझो सेटले हराउँदै हेटौंडा उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको थियो । महिलातर्फको सर्वोकृष्ट खेलाडी जिया स्याङ्तान घोषित भएकी छिन् । भलिबल प्रतियोगितामा पुरुषतर्फ १० वटा र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
यस्तै, हुप्रचौरमा सम्पन्न भएको पुरुषतर्फको कबड्डी प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ । थाहा नगरपालिकालाई हराउँदै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको हो । पुरुषतर्फ आइतबार सम्पन्न भएको सेमिफाइनल खेलमा बागमती गाउँपालिकालाई हराउँदै थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको थियो भने बकैया गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
महिलातर्फको कबड्डी प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको छ । बागमती गाउँपालिकालाई पराजित गर्दै थाहा नगरपालिकाले उपाधि जितेको । आइतबार नै सम्पन्न भएको सेमिफाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई पराजित गर्दै बागमती फाइनलमा प्रवेश गरेको थियो ।
एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत्् पुरुषतर्फको हाइजम्पमा बागमती गाउँपालिकाका आगमन राई प्रथम, कैलाश गाउँपालिकाका नवराज मोक्तान द्वितीय र हेटौंडाका अभिनन्द चौधरी तृतीय भएका छन् । महिलातर्फ कैलाश गाउँपालिकाकी गोमा बर्तौला प्रथम, भीमफेदी गाउँपालिकाकी सञ्जु गोले द्वितीय र कैलाश गाउँपालिकाकी कृष्टिना बानियाँ तृतीय भएकी छिन् ।
पुरुषतर्फको ट्रिपल जम्पमा बकैया गाउँपालिकाका पाण्डव राई प्रथम, हेटौंडा उपमहानगरपालिकाका जिकेश सापकोटा द्वितीय र बकैया गाउँपालिकाका सुदीप राई तृतीय भएका छन् । महिलातर्फको ट्रिपल जम्पमा भीमफेदी गाउँपालिकाकी सपना घिसिङ प्रथम, थाहा नगरपालिकाकी बिनिता बलामी द्वितीय र थाहा नगरपालिकाकै प्रिया खत्री तृतीय भएकी छिन् । महिलातर्फको लङजम्पमा थाहा नगरपालिकाकी दीना गोपाली प्रथम, थाहा नगरपालिकाकै प्रिया खत्री द्वितीय र बकैया गाउँपालिकाकी सुजिना वाईबा तृतीय भएकी छिन् । पुरुषतर्फ लङजम्पमा हेटौंडाका सुविन भोलन प्रथम, कैलाश गाउँपालिकाका सुजन जिम्बा द्वितीय र बकैया गाउँपालिकाका पाण्डव राई तृतीय भएका छन् ।
महिलातर्फको सटपुटमा इन्द्रसरोवर गाउँपालिकाकी सुस्मिता पहरी प्रथम, इन्द्रसरोव गाउँपालिकाकै आकृति दर्लामी द्वितीय र मनहरी गाउँपालिकाकी शर्मिला बल तृतीय भएकी छिन् । पुरुषतर्फको सटपुटमा हेटौंडाका सुमित प्र्रजा प्रथम, थाहा नगरपालिकाका शिशिर गुरुङ द्वितीय र थाहा नगरपालिकाकै आदित्य स्याङ्तान तृतीय भएका छन् ।
पुरुषतर्फको ज्याभलिङ थ्रोमा बकैया गाउँपालिकाका सुमन योञ्जन प्रथम, बागमती गाउँपालिकाका देव लोप्चन द्वितीय र थाहा नगरपालिकाका मोहन बलामी तृतीय भएका छन् । महिलातर्फको ज्याभलिङ थ्रोमा भीमफेदी गाउँपालिकाकी स्नेहा तितुङ प्रथम, इन्द्रसरोवर गाउँपालिकी अञ्जना तामाङ द्वितीय र बागमती गाउँपालिकाकी निशा माझी तृतीय भएकी छिन् ।
४ सय मिटर दौडमा पुरुषतर्फ बकैया गाउँपालिका प्रथम, हेटौंडा उपमहानगरपालिका द्वितीय र मनहरी गाउँपालिका तृतीय भएको छ । महिलातर्फ मकवानपुरगढी गाउँपालिका प्रथम, बकैया गाउँपालिका द्वितीय र भीमफेदी गाउँपालिका तृतीय भएको छ । १ हजार ६ सय मिटरको रिले दौडमा पुरुषतर्फ बकैया गाउँपालिका प्रथम, बागमती गाउँपालिका द्वितीय र हेटौंडा उपमहानगरपालिका तृतीय भएको छ । महिलातर्फको खेलमा बकैया गाउँपालिका प्रथम, मकवानपुरगढी गाउँपालिका द्वितीय र थाहा नगरपालिका तृतीय भएका छन् । सय मिटर दौडमा हेटौंडाका जिकेश सापकोटा प्रथम, बकैयाका पाण्डव राई द्वितीय र हेटौंडाकै सुविन भोलन द्वितीय भएका छन । महिलातर्फ १ सय मिटर दौडमा थाहा नगरपालिकाकी डिना गोपाली प्रथम, मकवानपुरगढी गाउँपालिकाकी जेसिका तिमल्सिना द्वितीय र भीमफेदी गाउँपालिकाकी यशोदा पुडासैनी तृतीय भएकी छिन् । पुरुषतर्फको २ सय मिटर दौडमा हेटौंडाका जिकेश सापकोटा प्रथम, हेटौंडाकै सुविन भोलन द्वितीय र बकैयाका सुजन भोलन तृतीय भएका छन् । महिलातर्र्फको २ सय मिटर दौडमा डिना गोपाली प्रथम, आकृति गोपाली द्वितीय र मन्दिरा घिमिरे तृतीय भएकी छिन् ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ११ नम्बर वडा अध्यक्ष जुना दहाललगायतको उपस्थिति रहेको थियो ।