गुगल तस्विर ।

हेटौँडाः चितवन, रामेछाप र सिन्धुली जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार चितवन जिल्लाको खैरहनी नगरपालिका–२ मा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपालचोक जिल्ला घर भई हाल खैरहनी नगरपालिका फुलबारी टोल बस्ने ३५ वर्षीय प्रकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहान ४ बजेको समयमा सुनार शौचालयमा लड्दा घाईते भएका थिए । घाइते सुनारलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै, रामेछाप जिल्लाको सुनकोशी गाउँपालिका–५, बरपिपलमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय बाग बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ सोमबार बिहान ८ बजेदेखि सम्पर्कमा नआएपछि खोजतलास गर्दै जाँदा मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा सडकदेखि १ सय मिटर तल लडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९, दुधौली बजारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा दुधौली नगरपालिका–१३ मनवा बस्ने ५० वर्षीय गणेश बिक रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ३ बजेको समयमा दुधौली बजारमा सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको प्रहरीले जानकारी दिएको छ ।