गौरिटारस्थित खेलमैदानमा घाँस उमार्न पानी लगाइँदै ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्न लागेको छैठौँ संस्करणको मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ १६ गतेदेखि २७ गतेसम्म हुन लोगेको गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिता आयोजनाका लागि चौरको सरसफाई, चौरमा बार लगाउने, दुबो उमार्ने, घेरा लगाउने, मञ्च तयार पार्नेलगायतको कार्यहरु भइरहेको छ । माघ १० गतेभित्र सम्पूर्ण तयारीका कार्यहरु सम्पन्न हुने आयोजक समितिले जनाएको छ । यस अघि हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिता यो वर्ष हेटौंडा–६, हटियास्थित गौरीटार रंगशालामा हुन लागेको न्यु डाँफे युथ क्लबका अध्यक्ष आलोक स्ताङ्तानले बताउनुभएको छ । छैठौँ संस्करणको प्रतियोगिता तयारीका लागि चौर व्यवस्थापनलगायतको जिम्मेवारी न्यु डाँफे युथ क्लबलाई दिएको अध्यक्ष तथा व्यस्थापनका मुख्य संयोजक आलोक स्याङ्तानले बताउनुभयो ।

निर्माणाधीन अवस्थामा रहेको गौरीटार रंगशालालाई विभिन्न ठाउँहरुबाट आउने दर्शकहरुमाझ प्रख्यात बनाउन, २२ बिगाहा जमिनमा फैलिएको ठूलो चौर भएकोले छैठौँ संस्करणको प्रतियोगिताको आयोजना गौरीटार रंगशालामा गर्न लागेको व्यवस्थापन संयोजक स्याङ्तानले बताउनुभयो ।विस २०६५ सालमा रंगशालामा निर्माण भएको पर्खालमा केही कमजोरी भए तापनि कमजोरीलाई व्यवस्थापन गर्ने काम भइरहेको र संरक्षणका लागि डाँफे क्लबका खेलाडी, कराँतेका टिमहरु र ३० जना स्वयम्सेवकहरु सुरक्षाका लागि परिचालन गरेको उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालनको क्रममा हुने विभिन्न झै–झगडा, विवाद सिर्जनालगायतका कार्यहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएको उहाँले बताउनुभयो । १२ वटा टिम सहभागी हुने प्रतियोगिताको खेल तालिका छिट्टै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ, उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का व्यवसायी सन्तोष गौतमले ३ सय ५० सीसीको रोयल इन्फिल्ड बाइक प्रायोजन गर्नुभएको छ ।

यस्तै, अन्य विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार रुपैयाँ र म्यान अफ द म्याच हुने खेलाडीहरुले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस वर्षको प्रतियोगिताको समापन कार्यक्रममा एकजना उत्कृष्ट पत्रकारलाई ५० हजार रुपैयाँ नगद राशीसहित सम्मान गरिने जनाइएको छ । करिब १ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ भने सेमिफाइनल र फाइनल खेलमा टिकटको रकम बढाउने जनाइएको छ । गत वर्षको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीले जितेको थियो । फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले हराउँदै मनाङ मस्र्याङ्दीले उपाधि जितेको थियो ।