देवप्रसाद श्रेष्ठ
पुजापाठका लागि भन्दै धार्मिकस्थल पुग्ने बहानामा पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । बागमती प्रदेशको राजधानी हेटौँडास्थित गुम्बा र मन्दिरमा पनि पूर्वराजाले आइतबार पुजापाठ गरे । मुलुक जटिल परिस्थितिमा पुगेका बेला राजालाई देश बचाउने पात्रको रुपमा व्याख्या गर्दै जयजयकार गर्ने प्रयास पनि भइरहेको छ । मुलुकको बेथितिका बीच राजाप्रति आशा गर्नु आजका पुस्तालाई सामान्य जस्तै लाग्ला । तर, हिजो राजाको शासन काल भोगेकाहरुले बुझेको राजा र अहिलेका पुस्ताले आशा गरेको राजा बीच कुनै तादात्म्य रहँदैन ।
हिजो पञ्चायती राजाको शासनकालमा राजाको जन्मदिनमा राजालाई शुभकामना दिन मञ्चमा बोल्ने क्रममा शिक्षक माथि दमन गर्ने स्वेच्छाचारी शिक्षा अधिकारीको विरोध गर्दा मण्डलेहरुको जमातले मञ्चमै आएर हमला गरेका थिए । त्यतिबेला न्यायप्रेमी हजारौं जनताले प्रतिकार गरेका थिए । यहि निहुँमा मलाई घटुवा र सरुवा गरेको थियोे । पछि विद्यार्थी, अभिभावकहरुको १८ दिनको लामो संघर्षपछि म माथिको कारबाही फिर्ता गर्यो ।
हाम्रा साथीहरूले कुराकानी पत्रिका चलाएका थिए । पत्रिकामा बागलुङका न्यायाधीशले भ्रष्टाचार गरेको समाचार लेख्दा सम्पादकद्वय केशव श्रेष्ठ र दीपक श्रेष्ठलाई महिनौं महिना मुद्दा चलाएर बागलुङ ओहोर–दोहोर गरायो । त्यतिबेला बागलुङ जाने मोटर बाटो थिएन । प्रेसमा रात दिन प्रहरी सेना र सुलसुलेहरुको निगरानी हुन्थ्यो । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ब्यारेकमा थुप्रै पटक धाएर स्पष्टीकरण दिनुपरेको थियोे । गाइजात्राका बेलामा समेत राजा र व्यवस्थाको बिरोधमा कुनै व्यङ्ग्य पर्यो कि भनेर सतर्क हुन पथ्र्यो ।
शिक्षकहरुले त व्यवस्थाको होइन हामीलाई खान पुग्नेसम्मको सुबिधा र अरु कर्मचारीसरह बुढेशकालमा सहारा माग्दा देशैभरीका शिक्षकहरुलाई जेल कोच्ने प्रहरी हिरासतमा थुन्ने गर्यो । विमर्श पत्रिकाका सम्पादक पदम ठकुराठीले दरबार भित्रकै मूर्ति चोरी गरेको खबर लेखेपछि एउटा आँखा र निधारै थेप्चिने गरी अंगभंग गर्यो । लेख्न, बोल्न माग गर्ने र निरंकुशताको विरोधमा लाग्नेहरुलाई जेल–नेल कोच्ने मात्रै होइन थुप्रैलाई बेपत्ता समेत बनायो ।
२०४६ सालपछि जन्मेका निरंकुश शासन कालमा जनताले खेप्नु परेका कहर नदेखेका युवायुवतीहरु गणतन्त्रमा बोल्ने, लेख्ने सुबिधा पाएर पनि शासन सत्तामा बस्नेहरुबाट सुशासन नपाएर विरोध गरिरहेका छन् । आँखा चिम्लेर राजा फर्काउन बल गरिरहेका छन् । गणतन्त्रपछि सत्तामा पुगेर अकुत सम्पत्ति कमाउनेहरुको क्रियाकलापले पनि प्रतिगामीहरुको आन्दोलनमा मलजल पुर्याइरहेको छ ।
राजा महेन्द्रले भूमिसुधार लागू गरेको अर्को साल २०२१ मा हेटौंडा आउँदा हेटौंडाको चिसापानी गर्दोइका किसानले जंगल फँडानी गरी हराभरा बनाएको १२० बिगाहा जमिन राजदरबारका १५ जना सचिव तथा कर्मचारीलाई वितरण गरी गरिब किसानलाई दमन गरी निजगढ र बडाहा फाँटको जंगलमा लखेट्यो । धेरैलाई जेल नेल ठोक्यो ।
बोल्न–लेख्न र चलफिर गर्न नपाइने समयमा देशैभरी कति दमन गर्यो, कति दुख दियो, त्यो त भोग्नेलाई मात्र थाहा छ । गणतन्त्रमा सत्तामा पुग्न पैसा बटुल्ने सत्तामा पुगिसकेपछि भ्रष्टाचार गर्ने । ठेकेदार पोस्ने अनेकौं काण्डै काण्ड गरि देशलाइ खोक्रो बनाउने नेताहरूका कारण गणतन्त्रलाई बदनाम गर्ने काम भैरहेको छ । गणतन्त्रको विकल्प राजतन्त्र होइन योग्य र सक्षम नेताले जनताको सेवा गर्ने उन्नत गणतन्त्र हो । यस्का लागि निरन्तर खबरदारी र सचेत हुनपर्छ । नेपाली जनताले नै लडेर रगत पसिना बगाएर आजसम्मको हरेक परिवर्तन ल्याएको हो ।