छलफलमा सहभागीहरु ।

हेटौंडाः हेटौंडामा मकवानपुरको खेलकुद पूर्वाधार विषयमा छलफल भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्ष तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य पेम्बा लामाको प्रमुख आतिथ्यमा छलफल कार्यक्रम भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्मा आवद्ध भएका खेल पदाधिकारीहरुको उपस्थितिमा खेलकुद क्षेत्रको अवस्था के–कस्तो छ ? जिल्लाहरुमा मैदान संरचनाको अवस्था के छ ? खेलकुदको मैदान व्यवस्था के कस्तो छ भन्ने विषयमा छलफल गरिएको जिल्ला खेलकुदका अध्यक्ष खड्कीले बताउनुभयो । मैदान व्यवस्थित नहुनुका कारण र स्थानीय तहबाट प्राप्त भएको बजेटको राम्रो सदुपयोग भएको छ कि छैन भन्ने कुरामा पनि छलफल गरेको उहाँले बताउनुभयो ।

उहाँले शुक्रबार भएको छलफलबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता यही माघ १२ गतेदेखि १४ गतेसम्म गर्ने निर्णय गरेको अध्यक्ष खड्कीले बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुने खेलाडीहरुलाई १५ दिन बन्द प्रशिक्षण राख्ने उहाँले बताउनुभयो ।

बक्सिङ, कराँते, तेक्वान्दो, उसु, क्रिकेटलगायतका खेलमा आवद्ध भएका पदाधिकारीहरुको सहभागितामा पूर्वाधारहरुमध्ये केलाई स्थानीय तहमा समावेश गर्ने भन्ने कुरालाई प्राथमिकता दिएर खेलकुद पूर्वाधारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका पूर्वप्रमुख राजन दहाल खुशराजले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, सुशील घिमिरे, खेलकुद विकास समितिको कार्यालय प्रमुख माधव कोइरालालगायतको आतिथ्य रहेको थियो ।