शिक्षालाई पुनःपरिकल्पना गर्न आयोजित कार्यशालामा सहभागी ।

हेटौँडाः शिक्षामा गुणात्मक सुधारको लक्ष्यसहित क्रियाशील युवाहरुले शनिबार हेटौँडामा विद्यालय शिक्षालाई पुनःपरिकल्पना गर्न आग्रह गर्दै विद्यालय सञ्चालक र प्रिन्सीपलहरुका लागि एक दिने कार्यशालाको आयोजना गरेको छ । “प्रविधिको सहयोगमा शिक्षामा रुपान्तरण” भन्ने नारासहित युवाले अगुवाई गर्दै आएको संस्था वेदको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएड) को सहयोगमा कार्यशाला भएको हो ।

कार्यशालामा मकवानपुर जिल्लाका ४० भन्दा बढी निजी विद्यालयका सञ्चालक र प्रिन्सीपलको सहभागिता रहेको थियो । कार्यशालाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले स्थानीयस्तरमा समन्वय गरेको थियो । कार्यशालामा वेदका सहसंस्थापक उवम् प्रमुख कार्यकारी अधिकृत निर्देश द्वाले शैक्षिक संस्थाको लक्ष्य, उद्देश्य र दृष्टिकोण निर्धारण गर्न जरुरी रहेको औँल्याउनुभयो । विद्यालय शिक्षाको लक्ष्य, उद्देश्य र दृष्टिकोण स्पष्ट बनाउन सक्दा मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने उहाँको भनाइ थियो । आधुनिक प्रविधिको प्रयोग गरी प्रभावकारी शिक्षा प्रदान गर्न शैक्षिक संस्थाका सञ्चालक र शिक्षकबीचको सामूहिक प्रयास जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यशालामा कारखानाका सहसंस्थापक एवम् प्रमुख प्रशासकीय अधिकृत पवित्रबहादुर गौतमले प्रविधि, व्यवहारिक पक्ष र प्रभावकारी शिक्षाका विषयमा सहजीकरण गर्नुभएको थियो । पठन संस्कृतिको विकासमा पनि विद्यालयले ध्यान दिनुपर्ने गौतमको सुझाव थियो । कार्यशालामा सहभागीले आआफ्नो संस्थाको मूल्यांकन गरी प्रभावकारी शिक्षाका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यशालामा विद्यालय शिक्षाका विज्ञ प्रविज्ञ रेग्मीले कार्यशाला आयोजनाको मूल उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यशालाको उद्घाटन प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे र हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो ।