बल नियन्त्रणको प्रयास गर्दै महिला फुटबल खेलाडी । फाइल तस्वीर ।

हेटौँडाः साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू–१९ राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । राष्ट्रिय टोलीमा मकवानपुरकी सजिना स्याङ्तान पनि अटाएकी छिन् । सजिता फरवार्ड भूमिका खेल्छिन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ जनाको प्रारम्भिक टोलीबाट अन्तिम टोली चयन गरिएको हो । साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले लागि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।

नेपाली टोलीको गोलकिपरमा सुजाता तामाङ, करुणा बुढाथोकी र लिला जोशी छन् भने डिफेण्डरमा दिव्य अस्लामी मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के छन् । यस्तै मिडफिल्डरमा बिर्सना चौधरी, झुमा विश्वकर्मा, साराह बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ छानिँदा फरवार्डमा मकवानपुरकी सजिना स्याङ्तानसहित सेनु परियार, सुक्रिया मिया, बर्षा ओली, लिला चन्द ठकुरी, पूर्णिमा राई र समिक्षा मगर छानिएका छन् ।