मानव जीवन अमूल्य छ । यस्तो अमूल्य जीवनलाई हरेक मानिसले पूरा अवधि जिउन चाहन्छ । यति हुँदाहुँदै पनि केही मानिसले आफ्नो जीवन आफैंले अन्त्य गर्ने गरेका छन्, जसलाई आत्महत्या भनिन्छ । आत्महत्या गर्नु भएको कायरता र दुस्साहस हो । आत्महत्या भनेको जानीबुझी गरिने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु हो । स्वयम् अर्थात् आफैंले आफूलाई खत्तम अर्थात् समाप्त पार्नु आत्महत्या हो । आत्महत्या गर्नुलाई धेरैले कायरताको संज्ञा दिने गरेका छन् । तर, अधिकांश आत्महत्या मनोसामाजिक समस्याका कारणले हुने गर्दछ भन्ने मानिसले बुझ्न सकेका छैनन् । व्यक्तिको कमजोरीका कारण आत्महत्या नहुने र यसमा अनवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिम आत्महत्याको प्रमुख कारण मानिने गरिएको छ । व्यक्तिले आफूलाई आइपरेको अप्ठेरो वा समस्या समाधानका उपाय नदेख्दा आत्महत्याको बाटो रोज्नसक्छ ।
आत्महत्या विश्वव्यापी समस्या हो । विश्वमा प्रतिवर्ष करिब ८ लाख व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । आत्महत्याको समस्या बढी हुने देशमा नेपाल पनि अग्रस्थानमा रहेको छ । आत्महत्या बढी हुने देशमध्ये नेपाल विश्वको सातौँ तथा दक्षिण एसियामा श्रीलंकापछि दोस्रो स्थानमा पर्दछ । विश्वमा प्रत्येक एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्छन् तर नेपालमा यो दर प्रतिएक लाखमा २४ जना रहेको छ । तथ्यांकअनुसार नेपालमा एक दिनमा करिब १९ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको स्थिति छ । नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुनेगर्छ । १० वर्षयताको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेहरु छन् । आत्महत्या गर्नेमध्ये झण्डै दुई तिहाइले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने दोस्रो तरिका विष सेवन गरेर हो । त्यसपछि शरीरमा आगो लगाएर आत्महत्या गर्नेहरु बढी पाइएका छन् । मकवानपुर जिल्लामा पनि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । मकवानपुरमा आत्महत्या भयाभह समस्या बनिरहेको छ । मकवानपुरमा पुस महिनामा मात्र १३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार पुस महिनामा १० जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६१ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा देखिने आत्महत्या दुरुत्साहनजन्य सामग्रीका कारण साना बालबालिकाले पनि आत्महत्या गर्ने क्रम बढेको छ ।
धेरै दिक्दारी लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले मानिसमा मनोसामाजिक समस्या आउँछ र त्यसले आत्महत्यालाई बढावा दिने गर्दछ । यस्तै, बढी मद्यपान तथा लागूऔषध सेवन गर्नु, दीर्घ रोगबाट ग्रस्त हुनु, जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्या आउनु, वैवाहिक जीवन सफल नहुनु, लामो समय बेरोजगार हुनु, विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पनि आत्महत्याका कारण हुन् । घर–परिवार, गाउँ–समाजमा आत्महत्याबारे खुलेर कुराकानी गर्ने गरेमा आत्महत्याबारे धेरै मानिसलाई सचेत बनाउन सकिन्छ । मानिसको मानसिक अवस्था कुन समयमा कस्तो हुन्छ भन्ने बुझ्न कठिन छ । अपर्झट आउने आत्महत्याको सोचलाई परित्याग गर्नसक्ने क्षमता तथा आत्मविश्वास मानिसमा जगाउन सकेमा आत्महत्याको नकारात्मक सोचबाट मानिसलाई उन्मुक्त बनाउन सकिन्छ ।
विभिन्न कारणले आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएका कारण यसको रोकथाममा प्रभावकारी उपाय अपनाउनु आवश्यक भएको छ । नेपाल प्रहरीले आत्महत्या न्यूनीकरणका लागि केही सचेतनामूलक कार्यहरु गर्दै आएको भए पनि त्यो पर्याप्त हुन सकेको छैन । विद्यालय तथा क्याम्पसहरुमा आत्महत्या न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रमलाई व्यापकता दिन सकेमा आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने आशा गर्न सकिन्छ । विभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाले आत्महत्या न्यूनीकरणका लागि सेचनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । विशेषगरी स्थानीय सरकार र वडाका जनप्रतिनिधिले आत्महत्या न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रका मनोसामाजिक समस्या भोगिरहेका व्यक्तिलाई उचित परामर्श दिन सकेमा आत्महत्याको दर कम गर्न सकिन्छ । आत्महत्या रोकथामका लागि सबै सरोकारवाला निकायले व्यापक बहस गर्ने, सचेतना वृद्धि गर्ने र न्यूनीकरणका उपाय अवलम्बन गर्नु आवश्यक छ ।