हेटौंडाः हेटौंडा–११, थानाभर्याङ्गस्थित चुरेहिल हस्पिटलले चितवनस्थित चितवन मेडिकल कलेजसँगको सहकार्यमा बुधबारबाट सेवा सुचारु गरेको छ । चितवन मेडिकल कलेज (सिएमसी) सँग गत असोज २६ गते सहकार्य गर्ने सम्झौता भएको ६ महिनापछि बुधबारबाट चुरेहिल अस्पताल सञ्चालनमा आएको अस्पतालका व्यवस्थापक रविन्द्र कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको विभिन्न साझेदारी हस्तान्तरण र प्रक्रियाका कारण सञ्चालनमा ढिलो भएको हो ।

४० प्रतिशत चुरेहिल र ६० प्रतिशत सिएमसीको सेयर रहने गरी सहकार्य भएको अस्पतालले बुधबारबाट साधारण जाँचको सुरुवात गरेको छ । अस्पतालमा जाँच गर्न आउने सेवाग्राहीहरुले धेरै स्वास्थ्य सेवा पाउन र स्वास्थ्यमा स्तरोन्नति गर्ने उद्देश्यले अस्पतालले सिएमसीसँग सहकार्य गरेको थापाले बताउनुभयो । अस्पतालमा आएका बिरामीहरु सानो तिनो जाँचका लागि काठमाडौं र चितवन जानुपर्ने अवस्थालाई मध्यनजर गरेर चितवन मेडिकल कलेज र चुरेहिल हस्पिटलबीच सहकार्यको सम्झौता भएको बताइएको छ । चुरेहिल अस्पतालले मुटु स्वास्थ्यसम्बन्धी उपचारलाई प्राथमिकतामा राखेको जनाएको छ । स्त्री तथा प्रसुती सेवा र बालस्वास्थ्य सम्बन्धी सेवा थप गर्ने भएको थापाले बताउनुभयो ।

अस्पतालमा आएका सेवाग्राहीहरुलाई स्वस्थ राख्ने लक्ष्य चुरेहिलले राखेको छ । चुरेहिल हस्पिटलका प्रबन्ध निर्देशक नारायण लाल श्रेष्ठका अनुसार करिब १० वर्षअघि सञ्चालनमा आएको अस्पतालको स्तरोन्नति गर्दै जिल्लावासीलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले चितवन मेडिकल कजेलसँग सहकार्य गरिएको बताउनुभयो । व्यावसायिक लाभ–हानी भन्दा पनि जिल्लावासीको सेवाका लागि चितवन मेडिकल कलेजसँगको सहकार्य महत्वपूर्ण र उपलब्धीमूलक हुने उहाँको भनाइ छ ।

चुरेहिल र चितवन मेडिकल कलेजबीचको साझेदारीलाई बुझाउने गरी नयाँ नामाकरण समेत गरी छिट्टै भव्य उद्घाटन गरिने श्रेष्ठले जानकारी दिनुभएको छ । २५ बेड क्षमताको चुरेहिल हस्पिटल चितवन मेडिकल कलेजसँगको सहकार्यपछि एक सय बेडमा स्तरोन्नति गरी भावी दिनमा मेडिकल कलेजकै रुपमा विकसित गर्ने योजना रहेको प्रबन्ध निर्देशक श्रेष्ठको दावी छ ।