आज माघ १ गते अर्थात् माघे संक्रान्ति । माघे संक्रान्तिलाई नेपालका विभिन्न क्षेत्रमा विभिन्न जाति र समुदायले विभिन्न पर्वको रुपमा मनाउने गरेका छन् । नेपालमा भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक आदि विविधता रहेका कारण एउटै दिनलाई विभिन्न क्षेत्र र समुदायले अलग–अलग पर्वको रुपमा मनाउने गर्दछन् । माघे संक्रान्ति देशका सबैजसो भूभाग र सबैजसो जाति, समुदायले मनाउने भए पनि यसको नाम र मनाउने तरिका फरक–फरक छ । हिमाल, पहाड तथा तराई सबैतिर माघे संक्रान्ति मनाइन्छ । यो दिन बाहुन, क्षेत्री, थारु, गुरुङ, मगर, राई, लिम्बु, नेवारलगायत सबैजसो समुदायका लागि आ–आफ्नै विशेष महत्वको छ । माघे संक्रान्तिको अवसरमा देशभर सार्वजनिक विदा दिइएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । यसै दिनबाट सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले उत्तरायण सुरु हुने र दिनभन्दा रात छोटो हुँदै जान्छन् । सूर्यले १२ वटै राशिलाई प्रभावित गर्ने भए पनि कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) मा सूर्यको प्रवेशलाई धार्मिक दृष्टिले बढी महत्व दिने गरेको पाइनछ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा माघे संक्रान्तिको महत्व वर्णन गरिएको छ । यस दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने ती ग्रन्थहरुमा उल्लेख छ । माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्ष मुलुकका विभिन्न स्थानहरुमा मकर संक्रान्ति मेला लाग्ने गरेको छ । हिन्दू धार्मिक महत्वका दृष्टिले प्रख्यात घाट, त्रिवेणी, नदी आदि स्थानहरुमा मकर नुहाउने, अनुष्ठान गर्ने र रमाइलो मेलाहरुको आयोजना हुने गरेको छ ।

माघे संक्रान्तिलाई, माघी, मकर संक्रान्ति, तिला संक्रान्ति आदिको नामबाट पनि चिनिने गरेको छ । यसकारण माघे संक्रान्तिले सांस्कृतिक विविधता बोकेको मान्न सकिन्छ । माघे संक्रान्ति पर्वलाई थारु समुदायले माघीको रुपमा धुमधामसँग मनाउँछन् । थारु समुदायले यसै दिनलाई नयाँ वर्ष मान्ने गर्दछन् । पश्चिम तराईका थारु समुदायले माघीकै अवसरमा एक वर्षका लागि आफ्ना प्रतिनिधि चुन्ने गर्दछन् । बडघडिया (गाउँको मुली), चिरकिया (गाउँको पूजारी), चौकीदार (गाउँको हुलाकी) र घरायसी कामको लागि घर धुरिया छनोट गर्ने परम्परा छ । माघे संक्रान्तिको दुई दिन अघिदेखि थारु समुदायका मानिसले माघी पर्व मनाउने गर्दछन् । पुस मसान्तमा नाचगान तथा रमाइलो गर्ने, जाग्राम बस्ने र माघे संक्रान्तिको दिन बिहानै खोला, पोखरीमा गई नुहाएर घरघरमा आफूभन्दा ठूलाको आशीर्वाद लिई विभिन्न परिकार खाने गर्दछन् । गुरुङ, मगर, नेवार, किराँत आदि जाति/समुदायले पनि माघे संक्रान्तिलाई विशेषरुपमा मनाउँछन् । तराई मधेशका बासिन्दाले माघे संक्रान्तिलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउने गर्दछन् ।

शिशिर ऋतुमा पर्ने यो पर्वका दिन शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । मंसिर, पुस महिनादेखि नै जाडो खेप्दै आएका मानिसहरुले माघपछि जाडो नहुने भन्दै त्यो दिन बिहान स्नानगरी पवित्र हुने गर्दछन् । माघे संक्रान्ति पर्व आम नेपाली जनजीवनका लागि बहुसांस्कृतिक सह–अस्तित्वको पहिचानका रुपमा विकास हुँदै आएको छ । सबै नेपालीमा उत्साह एवम् उमंग थप्दै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न यस्ता पर्व महत्वपूर्ण हुनेछ । मुलुकको सांस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने माघे संक्रान्ति अर्थात् माघी पर्वको सबैमा हार्दिक शुभकामना ।