सांकेतिक तस्विर ।

हेटौंडाः चितवन जिल्लामामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकै दिन २ जनाको मृत्यु भएको हो ।

भरतपुर नहानगरपालिका–७, क्यान्सर अस्पताल १ नम्बरको गेट नजिकै कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन माडी नगरपालिका–६, रामराज्यपुर बस्ने ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति ८ बजेर ३० मिनेटको समयमा टाइगरचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बीएबी २८७५ नम्बरको कारले ठक्कर दिँदा सापकोटा घाइते भएका थिए । घाइते सापकोटालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा सोही राति ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–११ बस्ने ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, चितवन जिल्लाको खैरहनी नगरपालिका–२, चैनपुरचोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–८, ब्रह्मनगर बस्ने ३० वर्षीय करण श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति ८ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ आउँदै गरेको बा प्र ०३–००१ च १७२७ नम्बरको बोलेरोले प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा श्रेष्ठ गम्भिर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा ९ बजेर ४० मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।