हेटौंडाः शैक्षक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा शनिबार भएको कार्यक्रममा मकवानपुर जिल्ला भरिका माध्यमिक तहका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको सभाध्यक्ष्यता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घलानले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको र एउटै विद्यालयमा ५–६ हजार विद्यार्थी केन्द्रित गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो । हरेक स्कूलमा नर्सहरुको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा आधुनिक राष्ट्रिय मावि र जनप्रिय माविको शैक्षिक गुणस्तरको बारेमा समेत चर्चा भएको थियो । विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउनका लागि विद्यार्थीलाई कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने विषयमा छलफल भएको थियो ।