हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः लेयर्स कुखुराको अण्डाको मूल्यमा सुधार भएको छ । किसानले पाउने मूल्यमा प्रतिक्रेट ३५ रुपैयाँले सुधार भएको छ । आजदेखि लागु हुने गरी मकवानपुर कुखुरा व्यवसायी संघले लेयर्स कुखुराको अण्डा प्रतिक्रेट २८५ रुपैयाँ कायम गरेको छ ।

एक किसानका अनुसार किसानसँग अण्डा खरिद गरी डिलरले कुखुराको अण्डा केहीदिनदेखि स्टक बढाएपछि आजबाट मूल्य पनि बढाएको आशंका गरेका छन् । उनकाअनुसार लकडाउन खुकुलो हुने संकेत देखिएपछि केहीदिनदेखि किसानसँग अण्डा उठाउने सप्लायर्सबाट पनि पर्याप्त अण्डा स्टक गरेर अहिले मूल्य बढाएको आशंका किसानको छ । लकडाउनका कारण चैत महिना र बैशाख १० गतेसम्म लागतको तुलना निक्कै कम मूल्यमा अण्डा विक्री गरेका किसानले अहिले भने राहत महसुस गरेका छन् ।

लेयर्स कुखुराको अण्डा उत्पादनमा किसानको लागत प्रतिक्रेट २५० पर्ने गरेको बताइन्छ । किसानले लकडाउनको समयमा बैशाख पहिलो सातासम्म १७० रुपैयाँसम्ममा अण्डा विक्री गर्न बाध्य भएका थिए । बैशाख १५ गतेदेखि अण्डाको मूल्यमा सुधार आएको हो । बैशाख दोस्रोसाताअघिसम्म भएको क्षतिलाई न्यून गर्न केही सहज भएको किसानको भनाइ छ । अर्कोतर्फ किसानले कम मूल्यमा विक्री गरेको अण्डा सप्लायर्स, डिलर हुँदै खुद्रा व्यापारीबाट उपभोक्तामा पुग्दा उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन् ।