हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको अन्तिम समयमा विभिन्न २४ वटा योजना संशोधन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बजेट नपुगेका कारण योजना संशोधन गरेको जनाएको छ । यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटको तयारी आज शुक्रबारदेखि सुरु गर्ने जनाएको छ । आजबाट आगामी आर्थिक वर्षको बजेटको तयारी सुरु गरेर असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले अनुसन्धान तथा विकास शीर्षकलाई संशोधन गरेर फर्निचर खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिकाले अनुसन्धान तथा विकास शीर्षकमा १२ लाख ८० हजार बजेट छुट्याएको थियो । यस्तै गाउँपालिकाले ९ लाख २६ हजार बजेट विनियोजन गरेको मानव संशाधन विकास शीर्षक र २ लाख ५६ हजार बजेट भएको खनिज तथा जडिबुट्टी अन्वेषण शीर्षकलाई कम्प्युटर औजार खरिद शीर्षकमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
६ लाख ८२ हजार बजेट रहेको हाटबजार तथा व्यापार मेला प्रदर्शन शीर्षक र ६ लाख ५३ हजार बजेट रहेको स्थानीय तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन शीर्षकलाई पदाधिकारी पारिश्रमिक शिर्षकमा खर्च गर्ने गरी संशोधन गर्ने निर्णय गरेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत सामान्य सेवाको रकम ४ लाख २६ हजारलाई व्यास मावि सडक मर्मत शीर्षकमा ३ लाख रुपैयाँ बजेट खर्च गर्ने निर्णय गरेको छ । टपरी उद्योगका लागि मेसिन खरिद गर्ने ५ लाखको शीर्षकलाई विभिन्न पुलहरुको समपुरक प्रतिवद्धता खर्चको भुक्तानी गर्ने गरी संशोधनको निर्णय भएको छ ।
गाउँपालिकाले महत्वपूर्ण कामलाई संशोधन गरेर खरिद र निर्माणमा जोड दिएको छ । यस्तै गाउँपालिकाको प्रशासकीय भवन केही दिनअघि आगलागी भएर ध्वस्त भएपछि कार्यालय व्यवस्थापनमै समस्या भएको जनाएको छ । गाउँ कार्यपालिकाको बिहिबारको बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ बजेट निर्माणको कार्य आज शुक्रबारदेखि सुरु गर्ने जनाएको छ । आजदेखि असार ५ गतेसम्म वडास्तरीय योजना तर्जुमाको कार्य गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको राजश्व परामर्श समितिको बैठक असार २ गतेका लागि तय गरेको छ भने स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक असार ५ गतेका लागि राख्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठक असार ८ गते राखेर असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका गाउँपालिकाले बनाएको छ । यस्तै योजना तर्जुमा समितिको बैठक असार ११ गतेदेखि १४ गतेसम्म राखिएको छ ।
गाउँ कार्यपालिकाको बैठकले चट्याङ लागेर घाइते भएका कैलाश–१० की सन्तमाया थोकरलाई विपद् व्यवस्थापन कोषबाट १२ हजार रुपैयाँ, गोली लागेर घाइते भएका कैलाश–८ का लालबहादुर मुक्तानलाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गर्दाको खर्च ५० हजार रुपैयाँ, आत्महत्या गरेकी एक महिलाको शव पोष्टमार्टमका लागि हेटौंडासम्म पुर्याउँदाको खर्च १५ हजार रुपैयाँ, कैलाश–४ का डबल घलानको उपचार खर्च वापत २० हजार रुपैयाँ पालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने निर्णय पनि भएको छ ।