विद्यालयका पूर्वशिक्षक एवम् सहयोगी चन्द्रकान्ता श्रेष्ठलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ । २०२२ सालमा स्थापना भएको विद्यालयले ५ दिनसम्म विविधि कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सवको समापन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले शैक्षिक विकास नभई अन्य क्षेत्रको विकास नहुने भएकाले शिक्षाको गुणस्तर सुधार्न सबै लाग्नुपर्ने बताउनुभयो । शैक्षिक गुणस्तरको ग्यारेन्टी भएमा उपमहानगरपालिकाले विद्यालयका लागि आवश्यक स्रोतको ग्यारेन्टी गर्ने उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य थियो । कार्यक्रममा वडा अध्यक्ष सिग्देल, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटा, विद्यालयका प्रधानाध्यापक श्रीराम दहाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवको समापन समारोहमा विद्यालयका संस्थापक, पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापक, सहयोगी संस्था तथा व्यक्ति र शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । दिवंगत भइसक्नुभएका संस्थापक अध्यक्ष मोहन बज्राचार्य, संस्थापकहरु ईन्द्रबहादुर श्रेष्ठ, ईन्द्रबहादुर दोङ, चेतनाथ ढकाल र नरबहादुर स्याङ्तानलाई मरणोपरान्त सम्मान गरिएको छ । उहाँहरुका परिवारका सदस्यले सम्मान ग्रहण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु केशवप्रसाद काफ्ले, गुरुप्रसाद खतिवडा, अजीव भट्टराई, नरेन्द्रलाल रिजाल र देवेन्द्रप्रसाद कोइरालालाई पनि सम्मान गरिएको छ । विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय धरणी भट्टराईलाई मरणोपरान्त सम्मान गरिएको छ । यस्तै, विद्यालयका पूर्वप्रधानाध्यापकहरु धनलाल श्रेष्ठ, तेजबहादुर लामा, रामअनुग्रह प्रसाद साह, रुद्रबहादुर बोगटी र चतुर्भुज उपाध्यायलाई सम्मान गरिएको छ ।

विद्यालयलाई सहयोग गर्ने राउण्ड टेबल नेपाल, ग्रामीण असहाय बालबालिका पुनस्र्थापना केन्द्र, श्रमिक क्रियाशील विद्यार्थी समूह, श्रमिक पार्क व्यवस्थापन समितिलगायत संस्थालाई सम्मान गरिएको छ । यस्तै, विद्यालयलाई सहयोग गर्ने पूर्वशिक्षक चन्द्रकान्ता श्रेष्ठ र बलराम राना, पूर्वविद्यार्थी गेहेन्द्र राजभण्डारी, पत्रकार सुरेश श्रेष्ठ, पूर्वविद्यार्थी निरज सिंह ठकुरीलगायतलाई पनि सम्मान गरिएको छ ।

विद्यालयका शिक्षक सुरेशकुमार महतो र कर्मचारीहरु काजीमान मुक्तान तथा अर्जुन रिजाललाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ । विद्यालयमा सबैभन्दा बढी दिन उपस्थित हुने शिक्षक मधु आचार्यलाई नियमित शिक्षक सम्मानबाट सम्मानित गरिएको छ । सबैभन्दा बढी सिकाई उपलब्धी हासिल गर्ने बालविकास शिक्षक निला सापकोटा, प्राथमिक तहका शिक्षक राजेश अधिकारी, निम्नमाध्यमिक तहका शिक्षक सुरेशकुमार महतो र माध्यमिक तहका शिक्षक श्रीराम अधिकारीलाई सम्मान गरिएको छ ।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सृजना पौडेल र स्काउट शिक्षक शान्ता घलानलाई पनि सम्मान गरिएको छ । शैक्षिक सत्र २०७९ को एसईई परीक्षामा सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थी भुपेन्द्र चौलागाईं र सामाजिक अध्ययन विषयमा जीपीए ४ ल्याउन सहयाग गर्ने शिक्षक श्रीराम दहाललाई समेत सम्मान गरिएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्वविद्यार्थी भेलासमेत आयोजना गरिएको छ । भेलाले सुरेश श्रेष्ठको संयोजकत्वमा श्रमिक मावि पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरेको छ ।

वार्षिकोत्सवको अवसरमा गत मंगलबारदेखि सञ्चालन गरिएका खेलकुद तथा अन्य कार्यक्रमका विजयी विद्यार्थी, अभिभावक र शिक्षकलाई पुरस्कृत गरिएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरसदन फुटबल, भलिबल, कबड्डीका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । विभिन्न दुरीको दौड, लङजम्प, ट्रिपल जम्प, सटपुट थ्रो, ज्याभलिङ थ्रोका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । यस्तै, हाजिरीजवाफ तथा अन्य मनोरञ्जनात्मक खेलका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

समापन समारोहमा विद्यालयका विद्यार्थीले सामाजिक, विज्ञान र गणित विषयको विषयगत सामग्री प्रदर्शनी गरेका थिए । विद्यालयका स्काउट तथा बालक्लबका विद्यार्थीले खानाको स्टल राखेका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले नृत्यसमेत प्रदर्शन गरेका थिए ।