हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको समापन शनिबार गरिनेछ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा विविध खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक प्रतियोगिता, सीपमूलक क्रियाकलाप सञ्चालन भएका छन् । फुटबल, भलिबल, कबड्डी खेलको प्रतिस्पर्धा सम्पन्न भएको विद्यालयका खेल शिक्षक राजेश अधिकारीले जानकारी दिनुभयो । एक सय, दुई सय र चार सय मिटर दौड, हाइजम्प, सटपुट थ्रो र ज्याभलिङ थ्रो प्रतियोगिता पनि सम्पन्न भएको उहाँले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले आज शुक्रबारबाट आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट र पूर्वतयारीका लागि विद्यालयको कार्यक्रम सहयोगी भएको शिक्षक अधिकारीको भनाइ छ । विद्यालयका साना विद्यार्थीका लागि रङ पहिचान गर्ने, बोत्तलमा पानी भर्ने, बोत्तल अड्याउने, पानीले भरिएको ग्लासमा फुकेर बल पास गर्ने, खुट्टाको औंलाले गुच्चा टिप्नेजस्ता मनोरञ्जनात्मक खेल खेलाइएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सृजना पौडेलले बताउनुभयो ।
विद्यार्थीमा परम्परागत सीपको विकास गराउने उद्देश्यले दुना, टपरी गाँस्न र कपासको बत्ती काट्न सिकाइएको शिक्षक पौडेलले जानकारी दिनुभयो । विद्यालयको स्काउट र बाल क्लबका विद्यार्थीले आज शुक्रबार र भोलि शनिबार फुड स्टलको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । विद्यार्थी आफैंले विभिन्न खाजाका परिकार तयार गरेर फुड स्टलबाट बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । आज शुक्रबार अभिभावकहरुबीच घ्याम्पो फुटाई तथा म्युजिकल चियर खेलको आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको समापनका दिन शनिबार विद्यार्थीले तयार पारेका शैक्षिक सामग्रीको प्रदर्शनी गरिने भएको छ । सोही दिन विद्यालयका पूर्वविद्यार्थीको भेला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले बताउनुभयो । ४ दिनसम्म भएका विविध खेलकुद तथा अन्य प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई समापन समारोहमा पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । विद्यालयको संस्थापक, पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापक, विद्यालयलाई विभिन्न किसिमबाट सहयोग गर्ने व्यक्तित्व, उत्कृष्ट शिक्षकहरुलाई सम्मानसमेत गरिने प्रधानाध्यापक दहालले बताउनुभयो ।