हेटौंडाः हेटौंडामा आज बिहीबारदेखि अन्तरनगरपालिका ५ एस राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत् हक्की प्रतियोगिता हुन लागेको हो ।
बुधबार जिल्ला खेलकुल विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ । नेपाल हक्की संघ जिल्ला समिति मकवानपुरको आयोजना, हेटौंडा उपमहानगरपालिका र विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । हक्की खेललाई अगाडि बढाउने, हक्कीप्रतिको रुचि विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।
यसवर्ष नेपालमा पहिलो पटक नेपाली प्राविधिकको व्यवस्था गरेर प्रतियोगिताको आयोजना गरेको नेपाल हक्की संघका सचिव असिम शर्माले जानकारी दिनुभयो । यसअघि छिमेकी मुलुक भारतबाट अम्पाएरहरु, टेक्निकल कमिटीसँग सम्बन्धित व्यक्तिहरु ल्याएर प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । हक्की संघमा नयाँ संरचनाको व्यवस्था भएर कोच र अम्पाएरको विभिन्न तालिम भएकाले यसपटक नेपाली प्राविधिकले नै प्रतियोगिता सञ्चालन गर्न सक्षम भएको सचिव शर्माले बताउनुभयो ।
आजबाट सुरु हुने प्रतियोगितामा ८ वटा टिम सहभागी हुने सचिव शर्माले बताउनुभयो । प्रतियोगितामा भीमदत्त नगरपालिका, सिमीकोट गाउँपालिका, पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका, मिथिला नगरपालिका र बिर्तामोड नगरपालिकाका टिमहरु सहभागी हुनेछन् । प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमहरुलाई नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । पुरस्कार राशि पछि तोकिने आयोजकले बताएको छ । प्रतियोगितामा करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुुस १४ गते हुनेछ ।