हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला उसु संघको आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा सुरु प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला उसु संघका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको हो ।
प्रतियोगितामा आयोजकसहित ८ वटा टिमका करिब १५० जना खेलाडीहरु सहभागी भएको जिल्ला उसु संघका सचिव विश्नाथ पाठकले जानकारी दिनुभएको छ । मधेश प्रदेशमा उसु प्रशिक्षकको अभाव भएकाले उक्त प्रदेशका खेलाडीहरु सहभागी नभएको पाठकले बताउनुभयो । प्रतियोगितामा २२ वटा स्वर्ण, २२ वटा रजत र कास्य पदकको लागि प्रतिस्पर्धा भइरहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा महिलातर्फ ४८ देखि ६० केजीसम्मका र पुरुषतर्फ ४८ देखि ८० केजीसम्मका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको पाठकको भनाइ छ । प्रतियोगितामा महिलातर्फ ६ वटा क्याटोगोरीमा र पुरुषतर्फ ८ वटा क्याटोगोरीमा प्रतिस्पर्धा हुनेको थियो ।
आज बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, पूर्वअध्यक्ष सानु लामा, नेपाल उसु संघका केन्द्रीय अध्यक्ष जनक बर्तौलालगायतको उपस्थिति रहेको थियो ।