हेटौँडाः राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बुधबार हेटौँडाका विद्यालयमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । विद्यालयका सामाजिक विषय शिक्षकले ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयलाई बुधबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक अध्ययन विषयको एक घन्टी ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध गरेको थियो । हेटौँडा–४ स्थित भुटनदेवी माविका शिक्षक सुमन श्रेष्ठले ज्येष्ठ नागरिकसम्बन्धी एक दिने कक्षा प्रभावकारी भएको र विद्यार्थीले चासोका साथ सुन्ने, बुझ्ने प्रयास गरेको बताउनुभएको छ । विद्यार्थीले पाठ्यक्रमभन्दा बाहिरका विषयमा चासो दिएको उहाँको भनाइ थियो ।