प्रशंसा अर्याल/असीम कुइँकेल विद्यार्थी, सिद्धार्थ शिशु सदन

विद्यालयमा नियमित पठनपाठन भइरहेको छ । कक्षाकोठाको पठनपाठन व्यस्त विद्यार्थीलाई हामीले नियमित कुराकानी गर्दै आएका छौं । यसै क्रममा हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनमा कक्षा १० मा पढ्ने विद्यार्थीहरु प्रशंसा अर्याल र असीम कुइँकेलसँग समृद्ध समाज दैनिककी संवाददाता सुप्रभा चौलागाईले पठनपाठन र विद्यार्थीको दैनिकी र नियमित क्रियाकलापमा आधारित रही कुराकानी गर्नुभएको छ । विद्यार्थीसँग गरिएको कुराकानीको सम्पादित अंशः

समाजः विद्यालयमा अहिले के–के हुँदैछ ?
कुइँकेलः
विद्यालयको क्याप्टेन र शिक्षकहरुबीच छलफल गरेर अहिले विद्यालयमा सरसफाई गर्ने योजना बनाएका छौं । प्रत्येक कक्षामा गएर विद्यार्थी र शिक्षक सबैलाई यो अभियान सफल पर्ने विषयमा हामीले आग्रह गरेका छौं ।

समाजः क्याप्टेन हुँदा र यो पदमा रहेर कार्य गर्दा कस्तो अनुभव हुन्छ ?
कुइँकेलः
मलाई सबैको नेतृत्वमा राखेर शिक्षकहरुले मसँग समन्वय गर्नुहुन्छ । मेरो हरेक मागलाई गहन रुपमा लिनुहुन्छ । मलाई यहिँबाट आफ्नो कर्तव्यको वोध हुन्छ ।
अर्यालः क्याप्टेन भएपछि हाम्रो धेरै भूमिका हुन्छ । हामीले आफ्नो साथसाथै पूरै विद्यालयलाई नै लिड गर्नुपर्ने हुन्छ । मैले आफु योग्य भएर भूमिका निर्वाह गरिरहेकी छु ।

समाजः कक्षा १० को विद्यार्थी हुनुहुन्छ । एसईईको तयारी पनि गरिरहनभुएको होला । पठनपाठन कस्तो चल्दैछ ?
कुइँकेलः
भर्खरै हाम्रो विषयहरुको कोर्स सकिएको छ । मैले विशेषगरी विज्ञान विषयलाई बढी समय दिएको छु । यो विषय जटिल छ । र त्यसपछि गणित विषयलाई धेरै अध्ययन गर्छु ।

समाजः विद्यालयले एसईईका लागि भनेर कतिको तयारी गराइरहेको छ ?
कुइँकेलः
विद्यालयले हामीहरुलाई सुरुबाट नै सहज वातावरण बनाइदिएको छ । हरेक आइतबार परीक्षा लिने गरिएको छ । यहि सातादेखि पढ्ने अभ्यास हुँदैछ ।

समाजः विद्यालयमा कस्ता कस्ता कार्यक्रम हुने गर्दछन् ?
अर्यालः
हाम्रो विद्यालयले विद्यार्थीको माग र आवश्यकता राम्रोसँग बुझेको छ । विद्यार्थीको व्यवहारमा लागु हुने क्रियाकलापहरु गराईन्छ । भर्खरै विद्यालयले स्थलगत भ्रमण कार्यक्रम पनि सकाएको छ ।

समाजः साथीहरु कस्तो हुनुहुन्छ ? कसरी पढ्ने गर्नुहुन्छ ?
अर्यालः
साथीहरु त मिलनसार हुनुहुन्छ । हामी समूह बनाएर पढ्ने गर्छौं । विद्यालयमा साथीहरुसँग समय बिताउँदा धेरै रमाईलो हुन्छ ।

समाजः तपाईको पढ्ने शैली कस्तो छ ?
अर्यालः
म लेखेर भन्दा पनि बुझेर पढ्छु । पहिला किताब पढ्छु र त्यहाँ के भन्न खोजेको त्यो कुरालाई बुझ्ने प्रयास गर्छु ।

समाजः भविष्यमा के बन्ने लक्ष्य राख्नु भएको छ ?
कुइँकेलः
सानोदेखि नै मलाई कम्युटरमा रुचि छ । भविष्यमा पनि कम्युटर सम्बन्धी दक्ष जनशक्ति बन्ने विचार छ ।

समाजः तपाईको समाजमा बसोवास गर्ने मानिस कस्तो किसिमको हुनुहुन्छ ? समाजमा तपाई कतिको सक्रिय हुनुहुन्छ ?
कुइँकेलः
समाजको हरेक बालमैत्री कार्यक्रमहरुमा म सक्रिय छु । मेरो समाज एकदमै बालमैत्री र सफा छ ।
अर्यालः मेरो समाजमा चाडपर्वको समयमा धेरै रमाईलो हुन्छ । त्यहाँ आफ्नोपन छ । मलाई हरेकले छोरी समान व्यवहार गर्नुहुन्छ । म समाजमा परिचित छु ।

समाजः तपाईहरुको रुचिको विषय के हो ?
कुईकेलः
मलाई कप्युटर र खेलकुद मन पर्छ । गीत पनि सुन्ने गर्छु ।
अर्यालः म नृत्यमा रुचि राख्छु । नृत्य गर्ने गर्छु ।