हेटौंडाः बारा प्रहरीले अवैध लागुऔषध ट्याबलेटसहित ४ जना पक्राउ गरेको छ । आइतबार ईलाका प्रहरी कार्यालय सिमरा र निजगढबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध ट्याबलेटसहित ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
आइतबार दिउँसो ३ बजेको समयमा ईलाका प्रहरी कार्यालयले जीतपुर–सिमरा उपमहानगरपालिका–३ बजनीबाट प्र २ ०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकल लुकाई छिपाई ल्याउँदै गरेको अवैध लागुऔषध बरामद गरेको थियो । प्रहरीले लागुऔषध ट्रमानिल १८ पत्ता १ सय ८० ट्याबलेट, फेनार्गन २ सय ९६ पिस, डाईजेपाम ३ सय ३ पिस र बुप्रो नोर्फिन ३ सय पिससहित मोटरसाइकल चालक ४३ वर्षीय जयशंकर प्रसाद यादव, पछाडी सवार २४ वर्षीय मनिष कुमार साह, बारा जिल्लाको निजगढ नगरपालिका–८ बुद्धचोकका २० वर्षीय विवेक मोक्तान र जितपुर–सिमरा उपमहानगरपालिका–१६ टांगियाका २० वर्षीय सागर तामाङ रहेको न्यौपानेले जानकारी दिनुभयो ।
अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा लगिएको प्रहरीले जानकारी दिएको छ ।