हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बुद्ध माविलाई बहुमुखी क्याम्पस बनाउन सप्ताह महायज्ञ सुरु भएको छ । मंगलबार बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सप्ताहव्यापी प्रवचनसहितको महायज्ञ उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री मोक्तानले क्याम्पस निर्माण गर्न प्रदेश सरकारले अभिभावकत्व लिने बताउनुभयो । सप्ताहव्यापी कार्यक्रममा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन गर्नुहुनेछ ।

क्याम्पस सञ्चालनका लागि धेरै दाताहरुबाट सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बोम्जनले जानकारी दिनुभयो । कार्यक्रममा क्याम्पस निर्माणका लागि सहयोग गर्न चाहने दाताहरुले उपस्थित भएर सहयोग गर्न सक्नेछन् । महायज्ञ १८ गतेसम्म सञ्चालन हुनेछन् ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले १ हजार १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक बोम्जनले बताउनुभयो । कक्षा ११ र १२ मा मात्र २ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षा र वाणिज्य संकाय अध्ययन अध्यापन भइरहेको विद्यालयमा कक्षा ११ मा १ सय ३० जना र कक्षा १२ मा ८९ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

बहुमखी क्याम्पस सञ्चालन भइसकेपछि मानविकी संकायलाई थप गर्ने लक्ष्य लिएको प्रधानाध्यापक बोम्जनले बताउनुभयो । तीन संकाय सञ्चालन गर्दा करिब ५०–६० लाख रुपैयाँ खर्च हुने उहाँको अनुमान छ । अहिले विद्यार्थी आकर्षणका लागि कार्यक्रम अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

बुद्ध माविमा बहुमुखी क्याम्पस सञ्चालन भइसकेपछि ग्रामीण भेगमा बसेर पनि स्नातक शिक्षा लिन सकिनेछन् । प्रायःगरी बागमती गाउँपालिकालगायतका अन्य ग्रामीण क्षेत्रका विद्यार्थीहरुले कम खर्चमा स्नातक शिक्षा लिन सक्ने प्रधानाध्यापक बोम्जनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष छाया अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका अध्यक्ष धर्मराज लामिछानेलगायतकोे आतिथ्य रहेको थियो ।