हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविको ५८ औं वार्षिकोत्सवको अवसरमा विविध क्रियाकलाप सुरु भएको छ । ५ दिनसम्म विविध कार्यक्रमको आयोजना गरी विद्यालयले वार्षिकोत्सव मनाउँदैछ । विद्यालयले वार्षिकोत्सवको अवसरमा ५ दिने कार्यक्रम आयोजना गरेको सम्भवतः पहिलो पटक हो ।
मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको उपस्थितिमा विद्यार्थीबीच विविध खेलकुद कार्यक्रमको उद्घाटन गरिएको विद्यालय प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभएको छ । सबै तहका विद्यार्थीको सहभागिता रहने गरी विविध खेलकुदको आयोजना गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक, कर्मचारीबीच पनि रचनात्मक क्रियाकलाप आयोजना गरिने बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा शैक्षिक प्रदर्शनी, खाना महोत्सवको पनि आयोजना गरिनेछ । आगामी शनिबार पूर्वविद्यार्थीको भेला समेत गरी विद्यालयका सहयोगीलाई सम्मानसँगै विविध क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना हुने विद्यार्थीलाई पुरस्कृत गरी वार्षिकोत्सव समारोहको समापन गरिनेछ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ५ सय ३७ जना विद्यार्थी अध्ययनरत छन् ।