हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवकी माविले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १५ रजत र ५ कास्य गरी ३१ पदकसहित देवकी मावि प्रथम भएको हो ।
प्रतियोगितामा सूर्य मावि ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी २४ पदकसहित द्वितीय भएको छ । यस्तै, जनता मावि ८ स्वर्ण, ९ रजत र २ कास्य गरी १९ पदकका साथ तृतीय भएको छ भने ५ स्वर्ण र ४ रजत प्राप्त गरी चौरा आधारभूत विद्यालय चौथो भएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पालिका भरीका ५० वडा विद्यालयमध्ये १२ विद्यालयको सहभागिता रहेको थियो । बागमती खेलकुद समिति विकासका अध्यक्ष टीकालाल श्रेष्ठको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलगायत वडाध्यक्षहरुको आतिथ्य रहेको थियो ।