हेटौंडाः मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले भोलि शनिबारबाट पदयात्रा सुरु गर्ने भएको छ । मकवानपुर जिल्लामा भएका ऐतिहासिक क्षेत्रको जानकारीसमेत गराउने उद्देश्यले समन्वय समितिले पदयात्रा कार्यक्रम आयोजना गरेको पर्यटन विकास समन्वय समितिका सहसचिव ओकिलराज बानियाँले जानकारी दिनुभयो ।
बानियाँका अनुसार भ्रमणमा सहभागीहरुलाई मकवानपुरगढी, ढुंगेगढी, राजकुवा, कालिकादेवी मन्दिर, जुङ्गे दरबार तथा शिखरकटेरीस्थित विजय पार्कको अवलोकन गराइनेछ । पदयात्रा शनिबारबाट सञ्चालनमा आउनेछ । पदयात्रा भ्रमणमा हरेक पालिका तथा अन्य स्थानका बासिन्दाले सहभागिता जनाउन पाउने बानियाँले बताउनुभयो । शनिबारको सहभागिता हेरी भ्रमणलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । शनिबार बिहान ८ बजे हेटौंडाबाट बसमा मकवानपुरगढी पुगेपछि पदयात्रा सुरुवात हुनेछ । एकदिनमा पदयात्रा भ्रमण पूरा गरी सोही दिन फर्किने जनाइएको छ । सहभागिता शुल्क ५ सय रुपैयाँ राखिएको छ । भ्रमणको दिन समितिले खाजा र खानाको व्यवस्था मिलाउने बानियाँले बताउनुभयो ।