हेटौँडाः हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसरमा संस्थापक सदस्यलाई सम्मान गरेको छ । आज सहकारीमै साताव्यापी कार्यक्रमको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै संस्थापक सदस्यलाई सम्मान गरेको हो ।
२०५६ सालमा २६ जना सेयर सदस्यको दुइ हजार छ सय रुपैयाँ सेयर पुँजीबाट सहकारी सुरु गरिएको संस्थापक अध्यक्ष रामशरण गौतमले जानकारी दिनुभयो । संस्थापक सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मंसिर मसान्तसम्ममा छ हजार नौ सय ३१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी चार करोड ३६ लाख ९४ हजार रुपैयाँ रहेको छ । सहकारीको बचत संकलन ५० करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेको छ । सहकारीले दुइ हजार एक सय २४ जना सेयर सदस्यलाई ५७ करोड ३२ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीको वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेर ज्येष्ठ सदस्य सम्मान, बाल सदस्य वनभोज कार्यक्रम, रक्तदानसहित विविध खेलकुद कार्यक्रम गर्दैछ । सहकारीको हेटौँडा–७ स्थित मुख्य कार्यालयसहित हेटौँडा–४, हेटौँडा–८, हेटौँडा–१६ मा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।