हेटौंडाः बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट छुट्टाछुट्टै बसबाट ७२ हजार रुपैयाँ बराबरको अवैध प्याज प्रहरीले जफत गरेको छ ।
मंगलबार प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलीले पथलैया चोकबाट ना ६ ख ९००४ नम्बर र बा प्र ०१–००६ ख ५४३३ नम्बरको यात्रुबाहक बसबाट १० क्विन्टल प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिनुभयो । प्रहरीले दुवै बसबाट ५–५ सय केजी प्याज बरामद गरेको थियो । अवैध प्याज नियन्त्रणमा लिई बसलाई गन्तव्यतर्फ पठाएको प्रवक्ता न्यौपाने जानकारी दिनुभयो । नेपालको तुलना भारतमा प्याज सस्तो भएकोले व्यवसायीले भन्सार छलेर चोरी पैठारी गर्ने गरेका छन् ।