हेटौंडाः मकवानपुरस्थित थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव रहेको छ । थाहा नगरपालिकाको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको कमी भएको केन्द्रका प्रमुख मेडिकल अधिकृत डा.गगन कार्कीले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएको छ । प्राथमिक भएता पनि दैनिक सय जना सेवाग्राहीहरु उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य केन्द्रले पालिकाका बासिन्दाहरुलाई ओपीडी, इमर्जेन्सी, परिवार नियोजन, प्रयोगशाला, फार्मेसीलगायतका सेवा प्रदान गर्दछ ।
महिनाको दुईपटक काठमाडौंका रेडियोलोजिस्ट र स्त्रीरोग विशेषज्ञ डाक्टर बोलाएर जाँच दिने गरेको डा. कार्कीले बताउनुभयो । डा. कार्कीका अनुसार केन्द्रको अवस्था राम्रो भए पनि केन्द्रमा धेरै समस्या रहेको छ । स्वास्थ्य केन्द्रमा जनशक्ति, प्रयोगशालाको उपकरण कम र हातले गर्ने भएकाले समय धेरै लाग्ने, पूर्वाधार र बजेटको कमीजस्ता समस्या रहेको छ ।
प्राथमिक केन्द्रले २४ सै घण्टा प्रयोगशाला र फार्मेसीको सेवा दिने गरेको छ । प्रयोगशालामा दैनिक ७० जनाको केस जाने गरेको छ भने ओपीडीबाट पहिलाभन्दा राम्रो सेवा दिरहेको डा. कार्कीले बताउनुभयो । स्वास्थ्य केन्द्रको इमर्जेन्सीमा ७ वटा शैया रहेको छ । नगरपालिकाका बासिन्दाहरु धेरै पखाला, रुघाखोकी, आघात रोग, प्र्mयाक्चर तथा मौसमी रोगलगायत समस्याले उपचारका लागि आउने गरेका छन् । केन्द्रबाट धेरै बिरामीर्लाइ काठमाडौंको पाटन अस्पताल रिफर गरिन्छ ।
डा. कार्कीका अनुसार केन्द्रले बिरामीहरुलाई पहिलाभन्दा कम रिफर गर्ने गरेको छ । केन्द्रले पहिला ५० जनालाई रिफर गर्ने गरेको थियो भने अहिले १० जनालाई रिफर गर्ने गरेको छ । डा. कार्कीका अनुसार नगरपालिकाका बासिन्दाहरु पूर्ण जाँचमा समेत आउने गरेका छन् । महिनामा ३० भन्दा बढी बिरामीहरु पूर्ण जाँचमा आउने उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्रले बीमाको सेवा पनि दिएको छ । ‘थाहा नगरपालिकाका बासिन्दाहरुले स्वास्थ्य केन्द्रमा समय धेरै लाग्छ भन्ने गुनासो गरेका छन्’, डा. कार्कीले बताउनुभयो । ‘स्वास्थ्य केन्द्रमा मेशिनहरु सेमिअटोमेटिक भएका कारण गुनासो सुनिएको छ ।’ डा. कार्कीका साथ केन्द्रबाट डा. पवन कार्की, डा. सुजता केसी र डा. शर्मिला विश्वकर्माले उपचार गरिरहनु भएको छ । स्वास्थ्य केन्द्रमा ७ जना स्टाफ नर्स रहनुभएको डा. कार्कीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा एउटामात्र एम्बुलेन्स रहेको छ । डा. कार्कीका अनुसार पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भएर अस्पताल बन्ने भएको छ ।