हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा भोलि शुक्रबारदेखि दोस्रो त्रैमासिक परीक्षा हुने भएको छ । पुस ६ गतेसम्म परीक्षा हुने गाउँपालिकाका विद्यालय निरीक्षक दाशरथी उपाध्याय भण्डारीले जानकारी दिनुभएको छ । परीक्षा बिहान र दिउँसो गरी दुई सिफ्टमा हुनेछ । गाउँपालिकाको परीक्षा समितिले विद्यालयलाई परीक्षाको प्रश्नावली उपलब्ध गराउने छ ।
गाउँपालिकामा रहेका ३७ वटा विद्यालय मध्ये ३६ वटा विद्यालयमा पालिकाले दिएको प्रश्नावलीअनुसार परीक्षा लिनेछ । पहिलो त्रैमासिक परीक्षामा छ हजार पाँच सय जनाले परीक्षा दिएका थिए । पहिलो त्रैमासिक परीक्षामा ८२ जना विद्यार्थी अनुपस्थित थिए । पहिलो त्रैमासिक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका निरीक्षक भण्डारीले जानकारी दिनुभयो । पहिलो त्रैमासिक परीक्षा साउनको पहिलो हप्तामा भएको थियो ।
मकवानपुरगढीमा आधारभूत विद्यालय २० वटा, निमावि ७ वटा र मावि १० वटा रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरगढीमा आधारभूत विद्यालयमा दुइ हजार आठ सय ८२ जना, निमाविमा ९ सय र माविमा दुइ हजार आठ सय गरी छ हजार पाँच सय ८२ जना विद्यार्थीहरु रहेको निरीक्षक भण्डारीले जानकारी दिनुभयो । निरीक्षक भण्डारीका अनुसार २०७९ सालको तुलनामा यस वर्ष मकवानपुरगढी गाउँपालिकामा ९ सय ३२ जना विद्यार्थी कम रहेका छन् ।











