प्रतियोगिताको उद्घाटन समारोहमा सहभागीहरु ।

बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङको सभाध्यक्षमा तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा बुधबार प्रतियोगिताको उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लामाले स्थानीय तहका खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर रहने बताउनुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले प्रतियोगितामा सहभागी भएको सबै खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नु हुँदै प्रतियोगिता मार्फत एक अर्का बीच भातृत्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

सटपुट फ्याँकेर प्रतियोगिताको उद्घाटन गर्ने तयारी गरिँदै ।

प्रतियोगितामा जनक माध्यमिक विद्यायल, महेन्द्र माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, कर्मप्राप्ती माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, कालीदेवी माध्यमिक विद्यालय, कालीदेवी आधारभूत विद्यालय, माटोकोरी आधारभूत विद्यालय, जनजागृति माध्यमिक विद्यालय र कालीदेवी माध्यमिक गरी १० वटा विद्यालयका करिब ५ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, कराँते, एथ्लेटिक्सका खेलहरु हुनेछ । कराँते प्रतियोगितामा १२ वटा विधामा प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्समा सय मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड हुनेछ ।

बिहिबारसम्म संचालन हुने प्रतियोगिता आयोजनाका लागि गाउँपालिकाबाट ३ लाख बजेट प्राप्त भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रथम र द्वितीय हुने दुई टिमलाई पुुसको पहिलो सातादेखि २ सातासम्म बन्दप्रशिक्षणमा राखेर जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराउने अध्यक्ष विजय लामा थिङले बताउनुभयो । प्रतियोगितामा टिम फस्ट र सेकेन्ड हुने विद्यालयलाई पनि शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा सर्वोकृष्ट खेलाडी महिला र पुरुषलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।