हेटौँडाः बालबालिकाको संरक्षणको क्षेत्रमा क्रियाशील संस्था सिविन नेपालको आयोजनामा मकवानपुर जिल्लाका विभिन्न प्रहरी इकाईमा वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतका लागि बालसंरक्षणसम्बन्धी अनुशिक्षण कार्यक्रम भएको छ । हेटौँडामा सोमबार एक दिवसीय अनुशिक्षण कार्यक्रममा ३० जना प्रहरीको सहभागिता रहेको थियो ।
विशेषगरी अनलाइनमार्फत बालबालिकामाथि हुने दुव्र्यवहारका घटनालाई लिएर प्रहरी इकाईले पीडितको संरक्षण र पीडकलाई कारवाहीको दायरामा ल्याउन निर्वाह गर्नुपर्ने भूमिका र अपनाउनुपर्ने सतर्कताका विषयमा जानकारी गराइएको थियो । साइवर सुरक्षाका दृष्टिले बालबालिका अत्यन्त जोखिममा रहने गरेको उल्लेख गर्नुहुँदै सिविन नेपालद्वारा सञ्चालित बालहेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले बालबालिकाको सुरक्षा र संरक्षणका लागि प्रहरीको भूमिका सवल बनाउन अनुशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो ।
अनुशिक्षणमा नेपाल प्रहरीको साइवर व्युरो काठमाडौंका प्रहरी उपरीक्षक पशुपति राय, सिविन नेपालका फिल्ड म्यानेजर माधव लोहनी र सिविन हेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधानको पनि उपस्थिति रहेको थियो ।