पक्राउ परेकाहरुलाई सार्वजनिक गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाल ।

हेटौंडाः मकवानपुर प्रहरीले एक थान सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ का ३३ वर्षीय निश्चल पौडेल, सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रीतम क्षेत्री रहेका छन् । उनीहरु शुक्रबार हेटौंडा–१० बाट पक्राउ परेका हुन् । गएको सोमबार राती ११ बजेको समयमा हेटौंडा–९ का सुर्य प्रसाद पौडेलको घरमा गोली प्रहार भएको थियो । गोली प्रहरी भएको भनी मंगलबार दिउँसो १ बजेको समयमा प्रहरीलाई सुचना प्राप्त हुनसाथ प्रहरी प्रमुख रिजालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दा गोलीका खोका समेत बरामद भएको थियो ।

प्रहरीले विभिन्न स्थानका सीसी टिभीको फुटेज र कपडाको आधारमा शंका लागि अनुन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ राउन्ड लेखेको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली १९ राउण्ड र ९ एमएमका गोली एक राउण्ड गोली पनि बरामद गरेको छ । यस्तै हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोईन २ ग्राम ४ सय मिलिग्राम र लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान बरामद गरेको छ । यस्तै घटनामा प्रयोग भएको ना २५ प ३३०५ नम्बर, ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल, ५० हजार रुपैयाँ र पाँच थान मोबाइल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।