हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १८ औं वार्षिक साधारणसभा सुरु भएको छ । शनिबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले साधारणसभाको उद्घाटन गर्नुभयो ।
साधारणसभाको उद्घाटन कार्यक्रममा संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गनाले गत आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघमा हाल १ सय ३८ वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था (साकोस) आवद्ध छन् । संघको शेयर पुँजी ४ करोड ४६ लाख ५५ हजार रुपैयाँ, बचत ९४ करोड ५६ लाख ९२ हजार रुपैयाँ र ऋण लगानी २२ करोड ८० लाख २६ हजार रुपैयाँ रहेको छ । यस वर्ष संघले ७ करोड ६३ लाख ६५ हजार ४ सय १ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
संघले साधारणसभाको अवसरमा सर्वोत्कृष्ट महिला साकोसको रुपमा हेटौंडा–११ स्थित बागेश्वरी महिला सकोसलाई सम्मान गरेको छ । यस्तै सर्बोत्कृष्ट मिश्रित सकोसको रुपमा हेटौंडा–२ स्थित हातेमालो साकोसलाई सम्मान गरेको छ । यस्तै सहकारी अभियानकर्मी महिलाको रुपमा जिल्ला बचत संघकी मेनुका दाहाल, अभियानकर्मी पुरुषको रुपमा श्रमिक सुरक्षित साकोसका अध्यक्ष नवराज अर्याललाई, उत्कृष्ट सहकारी महिला कर्मचारीको रुपमा महिला मिलन साकोसकी फुलमाया मोक्तान र उत्कृष्ट पुरुष कर्मचारीको रुपमा मितेरी सकोसका सरोज थापा मगरलाई सम्मान गरेका छन् ।
यस्तै उत्कृष्ट दैनिक कारोबारकर्ता साकोसको रुपमा राक्सिराङस्थित महिला मुक्ति सकोस, सकोस एकीकरण सम्मान आधुनिक साकोसलाई, सर्वाधिक बचत जम्मा गर्ने महिला सेवा साकोस, सर्वाधिक ऋण परिचालन गर्ने साकोस थाहा नगरपालिकास्थित कुञ्छाल साकोस र सर्वाधिक शेयर खरिद गर्ने जनचेतना साकोसलाई सम्मान गरेको छ । यस्तै गाउँपालिकातर्फ सर्वाधिक बचत जम्मा गर्ने भीमफेदीस्थित महिला जागृति साकोस, सर्वाधिक ऋण परिचालन गर्ने थाहा नगरपालिकास्थित हिमशिखर साकोस र सर्वाधिक शेयर खरिद गर्ने इन्द्रसरोवर गाउँपालिकास्थित सक्रिय साकोसलाई सम्मान गरेको छ । यस्तै महिला साकोसतर्फ सर्वाधिक बचत गर्ने महिला अभियान साकोस, सर्वाधिक ऋण परिचालन गर्ने पासाङल्हामु महिला साकोस र सर्वाधिक शेयर खरिद गर्ने शुभकामना महिला साकोसलाई सम्मान गरेको छ । साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ । ४ वर्षे कार्यकालका लागि १३ सदस्यीय समिति चयन हुनेछ ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभामा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल र संघकी संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष राधा सिन्तान लगायतको आतिथ्य रहेको थियो ।
