Home खेलकुद आजदेखि जिल्ला लिगको छनोट प्रतियोगिता

आजदेखि जिल्ला लिगको छनोट प्रतियोगिता

जिल्ला लिग प्रतियोगिता बारे जानकारी गराउनु हुँदै मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज शनिबारदेखि जिल्ला लिग छनोट प्रतियोगिता सुरु हुँदैछ । शुक्रबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला लिग छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने गरी २ वटा क्लब छनोट गरिने मकवानपुर जिल्ला फुटबल संघका सदस्य तथा प्रतियोगिता संयोजक आलोक स्याङ्तानले बताउनुभयो । प्रतियोगितामा गत वर्ष राष्ट्रियस्तरमा सहभागी भएका ए डिभिजनका खेलाडीहरुले सहभागी जनाउन पाउने छैनन् ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै विद्यालयस्तरमा फुटबल खेलको विकास गर्नुपर्ने बताउनुभयोे । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका नयाँ दर्ता भएका १२ वटा क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, मकवानपुर जिल्ला खेलकुद विकास समिति, हेटौँडा–६, १० र १४ नम्बर वडा कार्यालय, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नारायणी कलेजले सहयोग गरेको छ ।

प्रतियोगिता आयोजनाका लागि करिब ४ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुनेछ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नारायणी कलेजका प्राधानाध्यापक रखुनाथ खरालले मकवानपुर जिल्लामा पनि फुटबलको विकास नयाँ ढंगबाट प्रतियोगिताको आयोजना गरेकोमा संघलाई धन्यवाद व्यक्त गर्नुहुँदै यस्ता खालको प्रतियोगिताको आयोजना गरेर खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

Exit mobile version