मुख्यमन्त्रीको कार्यालय ।

हेटौंडाः बागमती प्रदेश सरकारले ५ महिनाको अवधिमा १२ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरेको छ । प्रदेश सरकराको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती ऐन २०७९ अनुसार १२ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरी पदस्थापन गराएको छ ।

प्रदेश सरकराले २०८० असार २० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले चन्द्र लुईटेल र पूर्णबहादुर दर्जीलाई सचिव पदमा बढुवा गरेको थियो । लुईटेल उमेर हदले अवकाश प्राप्त भइसक्नुभएको छ भने दर्जी प्रदेशसभा सचिवालय हेटौंडामा सचिवको रुपमा कार्यरत रहनुभएको छ ।

यस्तै, सरकरको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ नारायणबहादुर कार्की र इन्जिनियरतर्फ लोकनाथ रेग्मीलाई सचिवमा बढुवा गरेको थियो । स्वास्थ्यतर्फका कार्की ल्याबमा धुलिखेल अस्पतालमा कार्यरत रहनुभएको छ भने इन्जिनियर रेग्मी हेटौंडामा कार्यरत रहनुभएको छ ।

गत कार्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अधिकृतस्तर एघारौं तहमा ३ जनालाई बढुवा तथा पदस्थापन गरेको थियो । जसमा कृषि विकास निर्देशनालय हेटौंडाको प्रमुखमा सुधीर श्रेष्ठ, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डाराको प्रमुखमा नारायणकुमार श्रेष्ठ र डा. गौरीमान श्रेष्ठलाई पशुपछी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको निर्देशकको रुपमा पदस्थापना गरिएको थियो ।

बुधबार (मंसिर २० गते) बसेको मन्त्रिपरिषद् बैठकले ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी पदस्थापना गराएको छ । शिक्षा विकास निर्देशनालय हेटौंडाको निर्देशकमा दीपेन्द्र सुवेदी बढुवा हुनुभएको हो । बैठकले स्वास्थ्यतर्फ दीपक तिवारी, बसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा र डा. नरेन्द्रकुमार झालाई सचिवमा बढुवा गरेको हो ।

यस्तै, मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागिता जनाएको छ । प्रदेश सरकारको चालु आर्थिका वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रीहरूबीच कार्यसम्पादन करार भएको छ । महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र हेरफेरसम्बन्धी प्रस्ताव र बलेफी गाउँपालिकाको वडा संख्या तथा वडा सिमाना हेरफेरसम्बन्धी प्रस्ताव प्रदेश सरकारबाट स्वीकृत भई नेपाल सरकारसमक्ष पेस भएको छ ।

राष्ट्रिय योजना आयोगबाट आयोजना भएको १६ औं आवधिक योजनाको प्रारम्भिक मस्यौदा छलफल कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेशस्तरीय कार्यविस्तृतिकरण परिमार्जनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालनको लागि आवश्यक समन्वय र सहजीकरण गरेको छ ।

कार्यालयले नियमित कार्यसम्पादनतर्फ नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरु, संवैधानिक आयोगहरु, बागमती प्रदेशका स्थानीय तह तथा अन्य प्रदेशहरुसँग समन्वय, सम्पर्क र सहयोग आदानप्रदानका क्रियाकलापहरु (पत्राचार, बैठकमा सहभागिता आदि) गरेको छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरु तथा संवैधानिक आयोगहरुबाट माग भई आएका विवरण तथा तथ्याङ्कहरु सङ्कलन तथा एकीकृत गरी पठाउने कार्य, नेपाल सरकार, नेपाल सरकारका मन्त्रालय तथा निकाय एवम् संवैधानिक निकायहरुबाट भएका निर्णय कार्यान्वयन, यसका लागि बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग सहकार्य गरेको छ ।