हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रै अस्पताल सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ । संघीय सरकारको बजेटमा मकवानपुरगढी–६, डुम्रेकुनामा अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ६ करोड ७० लाख रुपैयाँ लागतमा निर्माणाधिन भवनको विद्युत र पानीको काम भइरहेको छ भने अस्पताल परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।
संघीय सरकारले ५ देखि १५ बेडसम्मको अस्पताल पालिकास्तरमा सञ्चालन गर्ने गरी देशभरका पालिकामा भवन निर्माणको कार्य सुरु गरेको थियो । पालिकास्तरमा अस्पताल सञ्चालन गर्न संघीय सरकारले प्रशासनिक संरचनाको खाका समेत तयार पारेको छ । मकवानपुरगढी गाउँपालिकामा मेडिकल अधिकृत अस्पताल प्रमुख रहने गरी ३० जनाको दरबन्दी संरचना तयार पारिएको छ ।
मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार मकवानपुरगढी गाउँपालिकाले पुस मसान्तसम्ममा अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मकवानपुरगढी गाउँपालिकाका सबै वडामा स्वास्थ्य इकाई स्थापना भइसके पनि अस्पतालको अभावमा गाउँपालिकाका नागरिक हेटौँडा उपमहानगरपालिकास्थित सरकारी तथा निजी अस्पतालमा पुग्न बाध्य छन् ।