हेटौँडाः हेटौँडाका थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार हेटौँडाको बुद्धचोकमा भेला भएका थारु समुदायले राप्ती नदिमा समाचकेवा बिर्सजन गरेका छन् । बुद्वचोकमा जम्मा भएर बाजागाजासहित मौलिक पोशाकमा भेला भएका थारु समुदायले झाँकी, र्यालीसहित राप्ती खोलामा विधिपूर्वक समाचकेवा पर्व विसर्जन गरेका हुन् ।
थारु समुदायमा मनाईने विभिन्न पर्वहरु मध्येको समाचकेवा पर्व लोककथामा आधारित सांस्कृतिक पर्व हो । यो पर्व विशेषगरी भाइबहिनी बीचको अगाध स्नेह र मायालाई चित्रण गर्दै कार्तिक शुक्लपक्षको द्वितीया तिथिदेखि प्रारम्भ भई पूर्णिमाको दिन नजिकैको खोला, नदि, तलाउ, पोखरीमा विधिपूर्वक समाचकेवालाई विसर्जन गरिन्छ ।
समाचकेवा पर्वमा थारु महिलाहरुले माटोको विभिन्न आकृतिहरु (समा, चकेवा, तितिर, सतभैया, बृन्दावनी, भमरा, चुगला, नटुवा, झाइलवाला, मृदंगीया आदि) बनाई हरेक दिन साँझपख लोकभाकामा आधारित गीतहरु गाउँदै, नाचगान गर्दै मनोरञ्जन गरी मनाउने गरिन्छ । यसमा दिदिबहिनीले गीत मार्फत दाजुभाइलाई आशीर्वाद, सुस्वास्थ्य र दिर्घायु कामना गरिन्छ भने चुगला (कुरौटेहरुलाई गीत गाउँदै गाली गर्ने गरिन्छ । एवम् रितले पूर्णिमा अघिल्लो रातसम्म विधिपूर्वक मनोरञ्जनात्मक हिसाबले मनाउने गरिन्छ ।