हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१६ स्थित हटिया स्वास्थ्यचौकीको स्तरोन्नति हुने भएको छ । स्वास्थ्यचौकीले आगामी एक हप्तामा ५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । स्वास्थ्यचौकीको स्तरोन्नति गर्दै वडाले अस्पताल सञ्चालनमा ल्याउने भएको १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालनका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कोइरालाका अनुसार अस्पतालमा बीमा र रिफरको समेत व्यवस्था हुने भएको छ । अस्पतालमा एमबीबीएस डाक्टर कमलराज न्यौपानेले सेवा दिने हुनुभएको छ । डा. न्यौपानेले यसअघि नवलपरासी जिल्ला अस्पतालमा काम गर्नुभएको बताइएको छ । हटिया अस्पतालको स्थायी दरबन्दीमा डा. न्यौपानेले सेवा दिनुहुनेछ । डा. न्यौपाने हेटौँडा उपमहानगर मातहतमा रहेर काम गर्ने पहिलो मेडिकल अधिकृत हुनुहुन्छ ।
वडा कार्यालयले डा. न्यौपानेलाई बिहीबार स्वागतसमेत गरेको छ । स्वागत कार्यक्रममा वडा अध्यक्ष कोइराला, वडा सदस्यहरु, जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईं, त्रिभुवन माध्ममिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद देवकोटा, हटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका लक्ष्मीनारायण भगत, हटिया अस्पतालका अनन्त बास्कोटा र वडा सचिवलगायत स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।