Home मुख्य समाचार नीति, नियमको तयारीमै बित्यो मन्त्रीको सय दिन

नीति, नियमको तयारीमै बित्यो मन्त्रीको सय दिन

हेटौंडाः बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको एक सय दिन पूरा भएको छ । मन्त्री चित्रकारको एक सय दिनको कार्यकाल ऐन, निर्देशिका, कार्यविधि र नीति निर्माण तथा संशोधनको तयारीमा बितेको छ ।

बुधबार नयाँ मन्त्रालयको कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री चित्रकारले एक सय दिनमा गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । भदौ ३ गते मन्त्री चित्रकारले बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।

मन्त्री भएपश्चात् प्रदेशको उद्योग प्रशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन औद्योगिक व्यवसाय ऐन तथा प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन निर्माणको प्रक्रिया सुरु गरिएको मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिनुभयो । प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका २०७५ लाई विस्थापन गरी प्रदेशस्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८० पनि मन्त्रिपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा नै रहेको छ ।

मन्त्री चित्रकारले मन्त्रालयको जिम्मेवारी लिएपश्चात्् मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत भएको छ । मन्त्रालयले चाडपर्वको समयमा १ हजार ५ सय १३ वटा व्यापारिक फर्महरुको अनुगमन गरी ६ लाख बराबरको जरिवाना र ४ लाख बराबारको म्याद नाघेका सामग्रीहरु नष्ट गरेको बताइएको छ ।

यस्तै, प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा दर्ता भएको छ । मन्त्री चित्रकारले प्रदेश सरकार उद्योग नीति निर्माणको चरणमा रहेको जानकारी दिँदै प्रदेश सरकार उद्योग, व्यापार, व्यवसायमा प्रोत्साहनमा लागेको बताउनुभयो । प्रदेशमा आर्थिक उपार्जन हुने काममा जोड दिँदै मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयो ।

Exit mobile version