सोमबार दिउँसो मकवानपुर उद्योग वाणिज्य संघले पठाएको जुम्लाका नागरिक ।

हेटौंडाः हेटौंडामा अलपत्र परेका जुम्लाका १० जनालाई आज मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा जुम्ला पठाइएको छ । व्यापारको क्रममा लकडाउनअघि नै हेटौंडा आइपुगेका जुम्लाका नागरिकलाई आज त्यसतर्फ पठाइएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौंडाबाट सुर्खेतसम्म पुग्ने गरी एउटा सुमोमा पठाइएको र सुर्खेतबाट पनि त्यहाँको उद्योग वाणिज्य संघको समन्वयमा जुम्ला पठाइनेछ ।

३ जना बालबालिकासहित १० जना व्यक्ति दुईवटा परिवारको भएको संघले जनाएको छ । लकडाउनका कारण समस्यामा परेपछि उनीहरुलाई स्थानीय संघ, संस्थाको साथ र सहयोगमा उद्दार गरी पठाइएको अध्यक्ष कटुवालले बताउनुभयो । हेटौंडाका दुईवटा नारायणी यातायात व्यवसायी संघले सुमोको व्यवस्था गरिदिएको हो ।