हेटौंडाः हेटौँडा अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट साउन महिनादेखि कार्तिक महिनासम्म १ सय ९४ जना हिंसा पीडितले सेवा प्राप्त गरेका छन् । ओसिएमसीको तथ्याङ्कअनुसार ४ महिनामा जबरजस्ती करणीका ३४ वटा घटना भएका छन् ।
यसअवधिमा यौनजन्य हिंसामा परेका ६ जना, शारीरिक हिंसामा परेका १२ जना, जबर्जस्ती विवाहका घटनामा ४ जना, घरेलु हिंसामा ७ जना र अन्य हिंसामा ३४ जना पीडित भएका छन् । साउन महिनामा १० जना जबरजस्ती करणीको समस्या, २ जना यौनजन्य हिंसा, ६ जना शारीरिक हिंसा, ३ जना जबरजस्ती विवाह, १ जना घरेलु हिंसा र १३ जना अन्य समस्याले आएका थिए । भदौ महिनामा ११ जना जबरजस्ती करणी, ३ जना यौनजन्य हिंसा, ४ जना शारीरिक हिंसा, ४ जना घरेलु हिंसा पीडितले सेवा लिएका छन् ।
असोज महिनामा ५ जना जबर्जस्तीकरणी, २ जना शारीरिक हिंसा, १ जना जबरजस्ती विवाह, २ जना घरेलु हिंसा पीडित भएका थिए भने कार्तिक महिनामा ८ जना जबर्जस्तीकरणी र १ जना यौनजन्य हिंसा पीडित भई एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवा लिन आएका थिए । केन्द्रमा मकवानपुरका गाउँपालिकाहरुबाट ३१ जना, नगरपालिकाहरुबाट ५२ जना र अन्यत्रबाट १४ जना सेवा लिन आएको केन्द्रले जनाएको छ । जबर्जस्तीकरणी र यौनजन्यको अनुसन्धान एउटै भएपनि कानुन फरक हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जबर्जस्तीकरणी र यौनजन्य हिंसामा परेका मानिसहरुलाई स्वास्थ्य परीक्षण गराएर आएको रिपोर्टसहित अदालत पठाउने गरिएको छ । मनहरी गाउँपालिका र पालुङमा भएका हिंसाको समेत प्रहरी कार्यालयले हेटौंडा अस्पतालमा भएको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाएको भण्डारीले बताउनुभयो ।
