हेटौँडाः हेटौँडा–५ स्थित पिप्ले-क्याम्पा रंगशालामा जारी स्व. सुदर्शन घिमिरे स्मृति फुटबल प्रतियोगितामा सेमीफाइनल प्रवेशका लागि आइतबार दिउँसो २ बजेर ३० मिनेटमा हेटौँडा फुटबल एकेडेमी र रियल स्टार क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।
हेटौँडा स्पोटर्स एफसी मुण्डियाल क्लबको आयोजनामा भएको पहिलो चरणको खेलमा हेटौँडा फुटबल एकेडेमीले निल गगन युवा क्लबलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने रियल स्टार क्लबले कमाने फुटबल एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरले न्यु डाँफे युथ क्लबलाई ३–० को गोलअन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरिसकेको छ भने अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकाले हिल्ली फिल्डर्स एफसी गोर्खालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल खेलको विजेता टिमले सेमीफाइनल खेलमा सोमबार नवजनजागृति युवा क्लब सिमरासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।











