हेटौंडाः बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश सरकारसँग पर्याप्त कानुन नभएको बताउनुभएको छ । शनिबार नवौं उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा हेटौंडामा भएको उद्योग व्यवसाय सञ्चालन नीतिगत जटिलता र समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।
देशको व्यवस्था संघीयताअनुरुप गएको तर ३ तहको सरकारमा अधिकार बाँडफाँड नभएकाले प्रदेश सरकारसँग कानुन पर्याप्त नभएको उहाँले बताउनुभएको हो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले राखेको समस्याको जवाफ दिने क्रममा मन्त्री चित्रकारले औद्योगिकीकरण र गरिबी निवारण संघीय सरकार मातहत रहेता पनि प्रदेश सरकार बढी जिम्मेवार रहेको भन्दै प्रदेशलाई अधिकार नभएको धारणा राख्नुभयो । संघीय सरकारले कार्यविभाजन नगर्दा उद्योगीको समस्या प्रदेश सरकारले समाधान गर्न नसकेको उहाँले बताउनुभयो । एउटै नीतिले १५ वर्षसम्म काम गर्न सक्ने सरकारले कानुन बनाउनुपर्ने धारणा मन्त्री चित्रकारले राख्नुभयो । उहाँले भन्नुभयो ‘उद्योगको विकासको विकल्प आएको जस्तो आफूलाई लागेको छैन, आफू सचेत छु, प्रदेश सरकारको उद्योग नीति नै छैन, उद्योगको लागि बजेट छैन ।’
प्रदेश सरकराले नीति बनाउन प्रयास गरेको बताउँदै संसदमा उद्योग क्षेत्रको विधेयक परिमार्जन गर्न लागि परेको धारणा मन्त्री चित्रकारले राख्नुभयो । विगतमा भौतिक पूर्वाधारलाई मात्र विकास मानेकाले जनाताको लागि रोजगारी सिर्जना नभएकाले स्वदेशी रोजगारी सिर्जना हुने कार्यलाई आफूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा उद्योग संघ मकवानपुरका उपाध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगीको क्षेत्रमा आएको समस्याको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्याकुरेलले प्रदेशमा उत्पादन भएको सामग्री प्रदेशमा खरिद नभएकाले बजार अभाव भई उद्योगी मारमा परेको बताउनुभयो । उद्योगीलाई वर्गीकरण गर्न आवश्यक रहेको धारणा उहाँले राख्नुभयो ।
सरकारले कार्यविधि निर्माण गर्दा उद्योगीहरुको सहभागिता गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । घरेलु तथा सना उद्योग कार्यालयले उद्योगलाई मात्रै हेरी उद्योगलाई बढावा दिन आवश्यक रहेको प्याकुरेलले औँल्याउनु भयो ।
यस्तै, कार्यक्रममा सहभागीहरुले प्रदेश सरकारको उद्योग मन्त्रालयमा बजेट नै कम भएको बताउँदै उद्योग व्यवसाय गर्न समस्या भएको धारणा राखेका थिए । पछिल्लो समय उद्योगमा पनि दोहोरो कर लाग्ने गरेकाले सरकारले एकद्वार प्रणालीबाट कर लिनुपर्ने सहभागी व्यवसायीको माग रहेको छ ।
सरकारको नीति राम्रो नहुँदा काम गर्न उद्योगीहरुलाई समस्या परेको बताउँदै उत्पादनको लागि कच्चा पदार्थको अभाव भएको नेपाल हस्तकला परिसंघका अध्यक्ष नवीन शाक्यले बताउनुभयो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलको अध्यक्षता तथा मन्त्री चित्रकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।











